
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले फोहोरमैला व्यवस्थापन र शहरी पूर्वाधार विकासमा ऐतिहासिक प्रगति गर्दै ‘नमूना नगरपालिका’ को यात्रामा दृढ पाइला चालेको छ। नगरभित्र स्थायी रूपमा सञ्चालनमा आएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र र आठ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण योजनाले नगरको समग्र विकासमा नयाँ युगको थालनी गरेको छ।

बिहीबार एशियाली विकास बैंक (ADB) तथा शहरी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले परियोजनाको स्थलगत अनुगमन गरेको छ। टोलीले केन्द्रको प्राविधिक, सामाजिक र व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको उल्लेख गर्दै यस्तो दीर्घकालीन योजना अन्य नगरका लागि पनि अनुकरणीय हुने बताएको छ।

निर्माण भएका केही सडकहरु, पालिकाको प्रशासनिक भवन लगायतको स्थलगत अनुगमनमा ADB टिम लिडर नरेश गिरि, शिखर लामा तामाङ् , गिरिश चन्द,प्रमोद पुडासैनी, नरेन्द्र चन्द, बिद्या देवी सिंह, बिमल बाबु खत्री, नरेन्द्र बहादुर चन्द लगायत गोदावरी नगर प्रमुख, उप प्रमुख प्रमुख प्रशासकिय अधिकृत, ईन्जिनियरहरुको टिमले सामुहिक अनुगमन गरेका थिए ।
नगर प्रमुख विरेन्द्र भट्टका अनुसार, “फोहोर व्यवस्थापन केवल सफाइको कुरा मात्र होइन, यो वातावरण, स्वास्थ्य र भावी पुस्ताप्रतिको उत्तरदायित्व हो। ADB को सहयोगले गुणात्मक सुधार आएको छ।”
स्रोतमै फोहोर छुट्याउने अभ्यास
गोदावरी नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर दिन आह्वान गर्दै जनसहयोगको अपेक्षा राखेको छ। यसबाट रिसाइक्लिङ र कम्पोस्ट प्रक्रियामा लागत घटाउने र प्रभावकारिता बढाउने लक्ष्य लिइएको छ।

ADB को सहयोगमा सञ्चालित केन्द्रमार्फत अहिले नगरका १२ वटै वडामा प्रभावकारी रूपमा फोहोर संकलन र व्यवस्थापन सुरु भइसकेको छ।
पूर्वाधार विकासको पनि तीव्र गति
गोदावरी नगरपालिकामा ८.२३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि बढाइएको छ। यस अन्तर्गत फुटपाथ, सडक बत्ती र ढल निकाससहितको आधुनिक सडक निर्माण गरिनेछ। हाल ठेक्का प्रक्रियाका लागि सूचना सार्वजनिक भइसकेको छ।
यस पाली ADB द्वारा कालोपत्रे हुने मुख्य सडक खण्डहरू:
शून्य दशमलव ९७ किलोमिटरको अत्तरिया चक्रपथ, शून्य दशमलव ३१ किलोमिटरको भट्ट किराना पसलदेखि फलटुँडे सडकसम्मको सडक, एक दशमलव १९ किलोमिटरको धनगढी–अत्तरिया ६ लेन सडक–गेटा सडक, एक दशमलव ७४ किलोमिटरको महेन्द्र राजमार्गदेखि चौकीडाँडा सडक, शून्य दशमलव ५७ किलोमिटरको कैनीको रुख देखि ग्वासी विद्यालय रहेको क्षेत्रको सडक, एक दशमलव ५८ किलोमिटरको लालपुर–गौडी सडक, शुन्य दशमलव ४३ किलोमिटरको सालघाडी सडक र एक दशमलव ५४ किलोमिटरको शान्ति मार्ग सडक कालोपत्र गर्न सम्झौताको प्रक्रिया सुरु भएको हो । गोदावरी नगरपालिका क्षेत्रका आठ वटा सडकको ८ दशमलव २३ किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता गर्न सूचना सार्वजनिक गरिएको छ ।
नगर प्रमुख भट्टले गोदावरीलाई सुदूरपश्चिमकै नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै नगरवासीलाई सहकार्यका लागि आह्वान गरेका छन्।
























