
डोटी: भौगोलिक रुपमा डोटीको जोरायल गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. ५ र ६ दुर्गम वडा हुन् । यद्यपी सडक सञ्जालबाट नजोडिएका भने होइनन् । तर ति सडकले गर्नु के ? वर्षातको ३/४ महिना बाइक र ट्याक्टर बाहेक अन्य सवारी साधन पूर्ण ठप्प रहन्छन् भने बाइक र ट्याक्टरको यात्रा पनि निकै चुनौतीपूर्ण छ । त्यसको कारण हो वडा नं. ६ मा पर्ने खोला ‘जारिमघाट’मा पक्की पूल नहुनु । जहाँ जीप चुर्लुम्मै डुब्ने पानी हुन्छ ।
उक्त खोलामा वर्षाैं पूरानो झोलुङ्गे पूल छ । अत्यन्तै साँगुरो रहेको झोलुङ्गे पूलबाटै जोखिम मोलेर बाइक यात्रा गरिन्छ ।

त्यसै जोखिमको सामना गर्दै हामी नजर अनलाइनका तर्फबाट साउन २४ गते वडा नं. ६ मा पुग्यौं र हामीले वडा नं. ६ मा एक प्रशंसनीय कार्य भैरहेको पायौं । त्यो थियो पूरै गाउँको सक्रियतामा सडकमा श्रमदान । आठौं दिनसम्म चलेको अभियान वडाका सबै सडकमा निरन्तर चलाउने स्थानीयको प्रतिबद्धता समेत हामीले पायौं ।
हामीले श्रमदानमा सहभागिहरुलाई भेट्दा उहाँहरुको एउटै स्वर थियो जारिमघाटमा पूल चाहिन्छ । त्यसका लागि स्थानीय सरकारको बजेटले पुग्दैन, संघ सरकारलाई त्यत्तिकै लागि गुहार्दैनौं र प्रदेश सरकारले पक्की पूल निर्माण गरिदेओस् ।
स्थानीय भागेश्वर सामुदायिक वनका अध्यक्ष सुदिप कुमार साउँदले भने– ‘प्रदेश सरकारले तपाईंको मिडियाबाट हाम्रो कुरा सुनिदेओस्, हाम्रो वडामा पछिल्लो समय स्थानीय सरकार बाहेक संघ र प्रदेशको बजेट शून्य छ । जारिमघाटमा मोटरेवल पक्की पूल बाहेक तत्काल हाम्रो अर्काे माग छैन ।’
सो वडाका अध्यक्ष गणेश बोहरा भन्छन्–‘सानातिना योजना हामी अरुको मुख ताकेर बस्दैनौं । तर हाम्रो श्रोतले नभ्याएयने जारिमघाट पूल वडा नं. ५ र ६ का बासिन्दाका लागि पहिलो माग हो ।’


बोहरा थप्छन् – ‘बर्षातका बेला मानिस बिरामी भयो भने आवतजावत कसरी गर्ने समस्या छ, अत्यावश्यक खाद्यान्न सामाग्री ल्याउन समस्या छ, कृषि उत्पादनको बजारीकरणको समस्या छ । त्यसैले समस्याको चाङ्मा हामी छौं ।’
उक्त पूल निर्माणका लागि महाकाली पूल आयोजनामार्फत डिपिआर बनेको भन्ने आफुले सुनेको तर बजेट विनियोजन नुहँदा पूल नबन्दा समस्या रहेको उनले बताए ।
हुन त उक्त पूल बहुचर्चित खुटिया–दिपायल जोड्ने फास्ट ट्रयाक अन्तरगत नै पर्दछ । तर बिडम्बना चुनावी एजेण्डामै सिमित रहने गरेकाले आम जनताका लागि झुटा सपना बाँडै झैं भएको छ । दुर्गमका जनताका आधारभूत सपना पूरा कहिले होलान् सरकार ? सरकारमा बसेर सत्ता सञ्चालन गर्नेले पीडा सुनिदिनु ! सुखी नेपाली, समृद्ध नेपालको नारा साकार पार्न जनताको समृद्धिको ढोका खोलिदिनु सरकार हाम्रो पनि अनुरोध छ । जोरायल गाउँपालिका वडा नं. ५ र ६ का सिङ्गो जनसमुदाय धन्य हुनेछन् ।

































