कञ्चनजंगा स्कुलको शिक्षासँगै सुरक्षा: “आफ्ना सम्पूर्ण विद्यार्थीलाई निःशुल्क १ लाख बराबरको बीमा”

Image
Nisarga Hospital

गुलरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियामा अवस्थित श्री कञ्चनजंगा इङ्लिस माध्यमिक विद्यालयले शिक्षामा उत्कृष्टता कायम गर्दै सामाजिक उत्तरदायित्वतर्फ समेत अनुकरणीय कदम चालेको छ। वि.सं. २०४९ सालमा स्थापना भएको कञ्चनजंगा मा.वि.ले आफ्नो ३३ वर्षे इतिहासमा पहिलोपटक सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका र कर्मचारीको लागि निःशुल्क निर्जीवन बीमा कार्यक्रम सुरु गरेको छ।

CP Hospital Dhangadhi

विद्यालय प्रशासनका अनुसार कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत १ हजार ९ सय ४८ जना विद्यार्थी तथा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–शिक्षिका र कर्मचारीलाई लक्षित गरी लागू गरिएको यो बीमा कार्यक्रम निको इन्सुरेन्स लिमिटेड मार्फत गरिएको हो।

“विद्यालयको सुरक्षामुखी र विद्यार्थी–शिक्षक–कर्मचारी हितमा आधारित यो योजनाले कञ्चनजंगामा पढ्ने र काम गर्ने सबैको जीवन सुरक्षाको प्रत्याभूति दिने विश्वास लिएको छ। प्रारम्भिक चरणमा कुल १ हजार ९ सय ५५ जनाको बीमा विद्यालयकै खर्चमा गरिएको छ र आगामी वर्षदेखि अभिभावकहरूसँग सहकार्य गर्दै निरन्तरता दिने योजना रहेको कञ्चनजंगा स्कुलका अध्यक्ष खगेन्द्र प्रसाद ओझाले बताएका छन्।

nawajiwan

बीमा योजनाअन्तर्गत, विद्यार्थी वा कर्मचारीले विद्यालय अथवा घर, जुनसुकै स्थानमा पनि दुर्घटनाबाट चोटपटक भएमा १ लाख रुपैयाँसम्मको उपचार खर्च र दुर्घटनावश मृत्यु भएमा १ लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त गर्न सक्नेछन्।

शैक्षिक गुणस्तरका साथै सामाजिक सरोकारमा पनि अब्बल देखिएको कञ्चनजंगा मा.वि.ले भौतिक पूर्वाधार, सक्षम प्रशासनिक टीम, दक्ष तथा अनुभवी शिक्षक वर्ग र मेहनती विद्यार्थीहरूको समन्वयमा पालिकाको मात्र नभई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गरिसकेको छ।

Attariya Hospital

कञ्चनजंगा इङ्लिस माध्यमिक विद्यालयले माध्यमिक तहको शिक्षामा मात्र सीमित नरही, अब स्नातक तहको उच्च शिक्षा पनि प्रदान गर्दै आएको छ। विद्यालयले चार वर्षीय वाणिज्य संकाय अन्तर्गतको BBS (Bachelor of Business Studies) कार्यक्रम सञ्चालनमा ल्याएको हो, जसले विद्यार्थीहरूलाई स्थानीय तहमै गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

बी.बी.एस. कार्यक्रम त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार सञ्चालित छ र व्यावसायिक तथा प्रशासनिक क्षेत्रमा करियर बनाउने इच्छुक विद्यार्थीहरूका लागि उपयुक्त मानिन्छ। उक्त कार्यक्रम अन्तर्गत व्यवस्थापन, लेखा, बजार व्यवस्थापन, वित्त, व्यवसाय नीति, उद्यमशिलता, मानव संसाधन लगायतका विषयमा व्यवस्थित र व्यवहारिक अध्ययन गराइन्छ।

कञ्चनजंगाले यो कार्यक्रम मार्फत उच्च शिक्षाका लागि अन्य शहरहरूमा जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विद्यार्थीहरूलाई आफ्नै जिल्लामा बसेर स्नातक तहको अध्ययन गर्ने अवसर प्रदान गरिरहेको छ। यो विद्यालयले स्थानीय अभिभावकहरूको माग, विद्यार्थीको भविष्य र समुदायको आवश्यकतालाई ध्यानमा राखी यस्तो सुविधा सुरु गरेको जनाएको छ। विद्यालयको निरन्तर सुधारमुखी प्रयास, विशिष्ट पहिचान, र नयाँ कार्यक्रमहरुको सफल कार्यान्वयनले गर्दा कञ्चनजंगा प्रति अभिभावकहरुको भरोसा थप बलियो बन्दै गएको छ।

विद्यालय प्रशासनले आगामी दिनहरूमा अझ प्रभावकारी र नवीन शैक्षिक तथा सुरक्षा सम्बन्धी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ।

Advertize US