
काठमाडौं:स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ‘संस्थागत उत्कृष्ट उद्यमशीलता विकास पुरस्कार’बाट सम्मानित भएको छ।सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र जोशीले दुई लाख रुपैयाँ राशीको पुरस्कार ग्रहण गरे।

आयोजक संस्थाले ग्रामीण आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र वित्तीय पहुँच विस्तारमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै छिमेक लघुवित्तलाई यो सम्मान प्रदान गरेको हो।

छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीका अनुसार, ‘अबको निकास—घर–घरमा उद्यमशीलता विकास’ भन्ने नारासहित संस्था सदस्यहरूको आम्दानी वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणमा संस्था निरन्तर सक्रिय छ।

उनले भने, “हामीले उद्यमशीलता विकासका लागि छुट्टै विभाग स्थापना गरेका छौँ। कृषि तथा पशुपालन प्राविधिक नियुक्ति, कर्मचारी तालिम, व्यवसाय प्रवद्र्धन कार्यक्रम र डिजिटल साक्षरता तालिममार्फत सदस्यहरूको क्षमता वृद्धि भइरहेको छ।”
तिवारीका भनाइमा, यस्ता पहलहरूले कर्जा सदुपयोग सुनिश्चित गर्ने, नियमित किस्ता र बचत सहज बनाउने मात्र नभई लघुवित्तप्रति विश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

अन्य सम्मानित व्यक्तित्व र संस्था
उक्त अवसरमा जीवन विकासका संस्थापक तथा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डललाई दुई लाख रुपैयाँ राशीको ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार’ प्रदान गरिएको छ। यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ।
त्यसैगरी, जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललाई ‘वातावरण मैत्री स्वावलम्बन गाउँ’को प्रवद्र्धन तथा विकासमा योगदान पुर्याएको भन्दै मन्त्री गुरुङले प्रशंसा पत्र प्रदान गरे।
ग्रामीण महिला उत्थान केन्द्र, दाङलाई ‘थ्री जिरो क्लब’ गठन र प्रवद्र्धनमा उत्कृष्ट सहयोगी संस्था घोषणा गरिएको छ भने छिमेक लघुवित्तका प्रबन्धक प्रकाश राजवंशीलाई क्लब गठनमा सक्रिय भूमिकाबापत प्रशंसा पत्र दिइयो।
कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार श्रेष्ठ, सहायक महाप्रबन्धक निकेश अधिकारी, सामाजिक विकास तथा ग्राहक संरक्षण विभागका वरिष्ठ विभागीय प्रमुख तारा नाथ महतोलगायतको उपस्थिति थियो।
समापनमा अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमले ल्याएको आर्थिक तथा सामाजिक परिवर्तनबारे प्रकाश पार्दै सबैमा आभार व्यक्त गरे।





















