
नेपालको सामाजिक,सांस्कृतिक जीवनशैलीमा बुवाको स्थान अतुलनीय छ।आमा जीवनदात्री, माया र स्नेहको प्रतीक हुनुहुन्छ भने बुबा अनुशासन, ईमानदारी र जीवनलाई सही बाटोमा अघि बढाउने दृढ आत्मविश्वासको प्रतिमूर्ति हुनुहुन्छ। हरेक वर्ष भाद्र कृष्ण औंसीको दिन विशेषरूपमा “कुशे औंसी” तथा “बुवाको मुख हेर्ने दिन”का रूपमा मनाइन्छ।यो दिन केवल धार्मिक वा परम्परागत चाड मात्र होइन, जीवनलाई प्रेरणा दिने सन्देश बोकेको अवसर पनि हो ।

कुशे औंसीमा विहानै उठेर स्नान गरी शुद्ध मनले घरघरमा कुश ल्याइन्छ र यसलाई पवित्र मानिन्छ । हिन्दू परम्पराअनुसार कुशलाई धर्मकर्ममा अनिवार्य रूपमा प्रयोग गरिन्छ । यसैले यो दिनलाई “कुशे औंसी” भनिएको हो । यही दिन बुवाको मुख हेरेर, उहाँप्रति सम्मान प्रकट गरी, उहाँलाई स्मरण गर्ने परम्परा रहेको छ । कतिपयले बुवाको मुख हेरी आशीर्वाद लिन्छन् भने कतिपयले दिवंगत पितृलाई सम्झेर श्रद्ध्य गरेर तर्पण अर्पण गर्छन्।
बुबा केवल परिवारका अभिभावक मात्र होइन, जीवनका गुरु पनि हुनुहुन्छ । हाम्रो संस्कृतिमा भनिन्छ-“पिता धर्मस्य कारणम्” अर्थात् पिता धर्म, कर्तव्य र अनुशासनको मूल आधार हुनुहुन्छ । बाल्यकालदेखि नै ईमानदारी, कडा मिहिनेत, सत्य र निष्ठाको बाटोमा अघि बढ्न प्रेरित गर्ने शक्ति बुबाबाटै प्राप्त हुन्छ । बुवाले दिएको शिक्षा र आदर्शले मात्र जीवनलाई सफल बनाउँदैन, यसले समाजलाई पनि सही दिशातर्फ अघि बढाउँछ ।

यस अवसरमा हामी सबैले आफ्ना बुबाप्रति कृतज्ञता प्रकट गर्नु हाम्रो कर्तव्य हो । बुबाले दिन-रात नथाकी गरेको संघर्ष, परिवारको सुखका लागि बगाएको पसिना, र कहिलेकाहीँ आफूले भोगेको दुःख,कष्टलाई लुकाएर दिएको खुशी-यी सबैलाई सम्झनु नै यस पर्वको मुख्य सार हो ।

आजको दिनमा, ज-जस्का बुबा जीवित हुनुहुन्छ, उहाँलाई सम्मान, प्रेम र सेवा गर्न सक्नु सबैभन्दा ठूलो सौभाग्य हो । जसका बुबा स्वर्गीय भइसकेका छन्, उहाँहरूको सम्झनामा श्राद्ध, दान–पुण्य वा साधारण तर गहिरो श्रद्धा प्रकट गर्नु नै वास्तविक धर्म हो ।
कुशे औंसीले हामीलाई केवल बुवाप्रति कृतज्ञ रहन मात्र होइन, जीवनलाई अनुशासन, सत्य र निष्ठासँग अघि बढाउन निरन्तर प्रेरित गरिरहन्छ । यही संस्कार र मूल्यबोधलाई जोगाउँदै लैजानु नै हाम्रो उत्तरदायित्व हो ।
यस अवसरमा, सबै आदरणीय बुबाहरूप्रति हार्दिक प्रणाम गर्दै, “कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन”को सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, दीर्घायु र समृद्धिको मंगलकामना गर्दछु ।

















