
कञ्चनपुर: ग्वालावारी सामुदायिक वनको आयोजनामा वाणी खुल्ला मञ्च कृष्णपुर नगरपालिका–२ मा मंगलबार हरितालिका तीजको पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महिला दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता सामुदायिक वन सदस्य पुष्पा देवी नाथ रहेका थिए भने कार्यक्रममा कृष्णपुरका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले तीज पर्व नेपाली महिलाको महान् चाड मात्र नभई समाजमा समता, समानता र एकताको सन्देश दिन महत्त्वपूर्ण हुने बताएका थिए। त्यस्तै, कार्यक्रममा कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिंह साउद विशिष्ट अतिथि रहेका थिए। उनले तीज पर्वले महिलाबीच आपसी सद्भाव, आत्मीयता र सामाजिक एकता बढाउने उल्लेख गर्दै सामुदायिक विकासका लागि महिलाको सक्रियता प्रशंसनीय रहेको धारणा व्यक्त गरे।
विशिष्ट अतिथिमध्ये वडा सदस्य सावित्री भारतीले तीज महिलाको आत्मबल वृद्धि गर्ने पर्व भएको र वडा सदस्य राजेन्द्र सिंहले यस्ता कार्यक्रमले परम्परागत संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेको टिप्पणी गरे।

कार्यक्रममा ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष नारन्दी बमले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। स्वागत मन्तव्यमा उहाँले महिला दिदीबहिनीहरूको सहभागिता, स्थानीय समुदायको साथ र अतिथिहरूको उपस्थिति कार्यक्रमको मुख्य सफलता भएको उल्लेख गरे।

सांस्कृतिक कार्यक्रममा स्थानीय महिलाहरूले परम्परागत भेषभूषा धारण गरी तीज गीतमा नाचगान प्रस्तुत गरेका थिए। सांगीतिक प्रस्तुति संगै देउडा र नृत्यहरूले कार्यक्रममा उल्लास थपेका थिए भने कार्यक्रम सञ्चालक नारु देवी पाण्डेय रहेकी थिईन।
सहभागीहरूले तीज पर्वले नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकतालाई अझ सबल बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
आयोजक समितिका अनुसार महिला सशक्तिकरण, सामुदायिक एकता र संस्कृतिको संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सामूहिक रूपमा यसलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल भएको बताएका छन्। ग्वालावारी सामुदायिक वनका अध्यक्ष गोपाल भारती र उपाध्यक्ष प्रकाश नाथ योगीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै, यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले सामुदायिक महिला उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको र समुदायलाई अझ सशक्त बनाउन योगदान पुर्याएको बताएका छन्।


















