
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नम्बर २ को सहयोगमा यस वर्षको ऋषि पञ्चमी विशेष सांस्कृतिक कार्यक्रम भाद्र १२ गते बाणी बजारस्थित खुला मञ्चमा आयोजना हुने भएको छ।

महिला दिदीबहिनीहरूको सक्रिय सहभागिता र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक संस्था, अगुवा महिला तथा स्थानीय सरोकारवालाको उपस्थितिलाई विशेष प्राथमिकताका साथ आमन्त्रण गरिएको छ।
वडाअध्यक्ष अर्जुनसिंह साउदको पहलमा आयोजना हुने यो कार्यक्रमलाई सफल र भव्य बनाउन स्थानीय महिला समूहहरूको सक्रियतामा बाणी बजारको खुला मञ्च वरपर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। सो सरसफाइ कार्यक्रममा गोलाबारी सामुदायिक वन उपभोक्ता समूहको समेत उल्लेख्य सहयोग रहेको आयोजक समितिले जनाएको छ।


सरसफाइ कार्यक्रममा सहभागी भएर योगदान पुर्याउने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै वडाअध्यक्ष साउदले ऋषि पञ्चमी विशेष सांस्कृतिक कार्यक्रमलाई महिला एकता र संस्कृतिको जगेर्नासँग जोडिएको महत्त्वपूर्ण अवसरका रूपमा लिने समय आएको बताए। उहाँले थपे, “यस कार्यक्रमलाई भव्य बनाउन महिला दिदीबहिनीहरूको उपस्थिति अनिवार्य छ, सबैलाई आग्रह गर्दछु।”
आयोजकका अनुसार कार्यक्रम दिउँसो हुने छ भने विभिन्न नृत्य, गीत, तीज विशेष नृत्य का साथै धार्मिक प्रस्तुतिका साथै स्थानिय प्रतिभाहरूलाई प्रस्तुत गराउने तयारी भइरहेको छ। सामुदायिक सद्भाव, धार्मिक आस्था र सांस्कृतिक एकतालाई सुदृढ बनाउन यस किसिमका कार्यक्रमहरूले ठूलो योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


















