
कञ्चनपुर: कृष्णपुर नगरपालिकाले हालसालै सरुवा भई ट्राफिक प्रहरी कार्यालयमा पदस्थापना हुनुभएका वरिष्ठ सई हर्क सांवदलाई औपचारिक स्वागत गरेको छ। स्वागत कार्यक्रमलाई अवसर पार्दै नगरपालिकाले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने दुई थान ब्रेथ लाइजर (रक्सी सेवन गरेको वा नगरेको पहिचान गर्ने उपकरण) उपलब्ध गराएको हो।

नगरपालिकाले ट्राफिक व्यवस्थापन सुदृढ पार्न, सडक दुर्घटना न्यूनिकरण गर्न तथा मदिरा सेवनपश्चात सवारीसाधन चलाउने प्रवृत्तिमा नियन्त्रण ल्याउनका लागि उपकरण हस्तान्तरण गरिएको बताइएको छ।
कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका प्रमुख हेम राज ओझाले नगरवासीको सुरक्षा र सुविधा सुनिश्चित गर्न ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै ब्रेथ लाइजर उपलब्ध गराइएकाले ट्राफिक सुरक्षामा थप सहजता आउने विश्वास गरेका छन्।


सोही अवसरमा ट्राफिक प्रहरी कार्यालय, कृष्णपुरका नवआगन्तुक वरिष्ठ सई हर्क सांवदले नगरपालिकाप्रति आभार प्रकट गर्दै प्रदान गरिएको सहयोगलाई सडक सुरक्षा र शान्तिपूर्ण यातायात व्यवस्थापनमा सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
नगरपालिकाद्वारा हस्तान्तरण गरिएका दुई थान ब्रेथ लाइजर अब नियमित ट्राफिक चेकजाँचमा प्रयोग गरिने छ, जसबाट चालकको मदिरा सेवन सम्बन्धी अवस्था तुरुन्तै पत्ता लगाउन सकिनेछ। यसले दुर्घटना रोकथाममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

















