
सुदूरपश्चिमको बैतडीमा आइतबार राति एक हृदयविदारक घटना घटेको छ। सिगास गाउँपालिका ०२ पिरडेगोदाका एक युवकले आफ्नै काकीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्।

३० वर्षीय यज्ञ सिंह धामीले आफ्नी काकी ३४ वर्षीया बेलमती धामी माथि घरभित्रै घाँटीमा बन्चरो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
चार दिनमै घरमा त्रास

हत्या आरोपी धामी हुलाक सेवामा अतिरिक्त कर्मचारीका रूपमा कार्यरत थिए। भदौ १९ गते मात्रै घर फर्किएका उनी आएकै दिन आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तहरूले बताएका छन्।
“चार दिनअघि मात्रै आएका थिए, मानसिक अवस्था स्थिर देखिँदैनथ्यो। हिजो त आफ्नै काकीलाई बन्चरोले घाटीमा हिर्काएर घरभित्रै मारिदिए, आफन्त गणेश सिंह धामीले भने।

हत्या गरिएकी बेलमती धामी एकल महिला थिइन्। उनको परिवारमा चार छोरी र एक छोरा रहेका छन्। एक्कासी आमा गुमाउँदा बालबालिकाको भविष्य अनिश्चित बनेको गाउँलेहरूले दुःख व्यक्त गरेका छन्।
प्रहरी नियन्त्रणमा आरोपी
घटनापछि यज्ञ सिंह धामी लाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको प्रहरीले जनाएको छ।
अझै प्रश्न अनुत्तरित
हत्या किन गरियो भन्ने प्रश्न अझै खुल्न सकेको छैन। तर यज्ञको मानसिक अवस्था असन्तुलित रहेको आफन्तहरूको भनाइ छ। स्थानीय बासिन्दाले भने यो घटनाले गाउँभरि त्रास फैलिएको बताएका छन्।






























