
बझाङः बझाङ जिल्लामा बुधबार विहानदेखि सुरक्षाकर्मीहरू व्यापक रूपमा तैनाथ गरिएको छ। जिल्ला भित्रका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक भौतिक संरचनामा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ भने निगरानी पनि थप गरिएको प्रमुख जिल्ला अधिकारी कैलाश ठकुरीले जानकारी दिनुभएको छ।
सुरक्षा समितिको निर्णयअनुसार बेलुकी ५ बजेदेखि सदरमुकाम चैनपुरसहित विभिन्न स्थानमा अनावश्यक आवतजावत, हुलदंगाको गतिविधि वा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरूमाथि प्रत्यक्ष कारबाही गरिने चेतावनी दिइएको छ। सोहीअनुसार सुरक्षाकर्मीहरूलाई आवश्यक तयारी अवस्थामा राखिएको छ।
हालै ‘जेन-जी’ को नाममा अराजक गतिविधि बढ्न थालेपछि सुरक्षामा कडाइ गरिएको हो। प्रमुख जिल्ला अधिकारीले नागरिकलाई विशेषगरी बालबालिकाको सुरक्षामा ध्यान दिन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गर्नुभएको छ। लहैलहैमा लाग्दा ठूलो दुर्घटना हुनसक्ने भएकाले अभिभावकलाई सतर्क रहन अनुरोध गरिएको छ।
सदरमुकाम चैनपुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ। नेपाली सेनाले माइकिङ गर्दै अनावश्यक हिँडडुल नगर्न, भिडभाड नगर्न र कुनै अप्रिय गतिविधि वा अपरिचित व्यक्तिलाई देखेमा प्रहरीको निःशुल्क नम्बर १०० वा सेनाको हेल्पलाइन ०१-५९७९००० मा सम्पर्क गर्न आह्वान गरेको छ।
नेपाली सेनाले बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। सो आदेशबारे नागरिकलाई माइकिङमार्फत जानकारी गराइरहेको र सबैले निर्देशनअनुसार सहयोग गर्नुपर्ने प्रजिअ ठकुरीले आग्रह गर्नुभएको छ।




















