
डोटीः डोटीको जोरायल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले `पच´ गरेको छ ।
पाँचौं, छैटौं र सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी लगातार जितेर `शिल्ड पच´ गरेको हो ।

मंसिर १७ गतेदेखि सञ्चालन भइ आज शनिबार सम्पन्न सातौं प्रतियोगितामा १६ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित कूल ३१ पदक हात पार्दै प्रथम उपाधी जित्न सफल भएसङ्गै लगातार तीन पटक रनिङ शिल्डको प्रथम उपाधी जितेको हो ।

त्यसैगरी वडा न.-१ स्थित गौरीशंकर माविले १५ स्वर्ण, ११ रजत र ७ कास्य पदक गरि कूल ३३ पदक सहित दोस्रो स्थान ओगट्न सफल भएको छ वडा न.-४ स्थित घण्टेश्वर माविले १० स्वर्ण, १५ रजत र १४ कास्य गरि कूल ३९ पदक सहित तेस्रो स्थान ओगट्न सफल भएको जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए ।

उक्त प्रतियोगितामा जोरायल गाउँपालिकाभित्रका ११ वटा विद्यालयका खेलाडीहरूको सहभागितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो छात्र छात्रा दुवैतर्फका खेलहरु सञ्चालन भएका थिए ।


जोरायल गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन घण्टेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनलाल थापाको सभाअध्यक्षता एवं जोरायल गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष नन्दराज भट्टको प्रमुख आतिथ्यता एवं शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
विजेताहरुलाई पुरस्कार वितरणपश्चात् प्रमुख अतिथि वडा अध्यक्ष भट्टले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकास एवं अनुशासनका लागि महत्त्वपूर्ण भएको र गाउँपालिकाले खेल तथा खेलाडीको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता सहित विजेता विद्यालय र खेलाडीहरुलाई बधाई व्यक्त गरे । विद्यार्थीको पढाई र खेलकुदलाई सङ्गसङ्गै लैजानुपर्नेमा उनलेे जोड दिए ।
हेर्नुस् सबै विद्यालयको सम्पूर्ण खेलको नतिजा तालिका :
































