
डोटीः निर्माण व्यवसायीहरुको छाता संगठन डोटी निर्माण व्यवसायी संघको समयमै अधिवेशन नभएपछि विवाद उत्पन्न भएको छ ।
२०७८ चैत १९ मा ८ औं साधारणसभा सम्पन्न गरेको संघको तीन वर्षको कार्यकाल २०८१ चैत १९ मा सकियो । उक्त अवधिमा ९ औं साधारणसभा तथा अधिवेशन हुन नसकेपछि सहमतिमा ६ महिना म्याद थपिएको थियो । जस अनुसार २०८२ भदौभित्र अधिवेशन गरिसक्नुपर्ने थियो । तर मंसिर महिना समेत जानै लाग्दा पनि अधिवेशन नभएपछि एक समूहले सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर गुहारेका छन् ।

२०५७ सालमा स्थापना भएको निर्माण व्यवसायी संघको विधानको परिच्छेद ४ को १० को (ग) मा कार्यसमितिको पदावधि सकिएको बढीमा २ महिनाभित्र साधारणसभा अनिवार्य बोलाएर नयाँ समिति चयन गरिनुपर्ने भए पनि त्यो हुन नसकेको ज्ञापन पत्रमा उल्लेख छ ।
कार्यसमितिका ५/७ जना जम्मा पारेर मनोमानी निर्णय गर्ने गरेको भन्दै संघका पूर्व कार्यवाहक अध्यक्ष एवं पूर्व प्रदेश सदस्य रमेश खडायत नेतृत्वको टिमले ज्ञापन पत्रमा आरोप लगाएको छ ।

संघमा कानुनी जटिलता उत्पन्न भैसकेको हुँदा प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गरिदिन अनुरोध गरिएको र प्रजिअ कल्पना घिमिरे नेपालले दुवै पक्ष बोलाएर समाधान निकाल्न पहल गर्ने बताउनुभएको पूर्व कार्यवाहक अध्यक्ष खडायतले जानकारी दिए ।
यस विषयमा डोटी निर्माण व्यवसायी संघका अध्यक्ष घनश्याम पाठकसङ्ग सम्पर्क गर्दा कार्यसमितिको बहुमतको आधारमा निर्णय गरे अगाडि बढेको बताए । उनलेे भने-“हामीहरुले सबै काम कार्यसमितिको बहुमतको आधारमा निर्णय गरे अगाडी बढेका हौं, भदौभित्र २७,२८ गतेतिर अधिवेशन गर्ने तयारी थियो । तर भदौ २३ र २४ को जेनजी आन्दोलनको प्रभावका कारण हुन सकेन । अब फाल्गुनको अन्तिममा अधिवेशन मिति तोकेका छौं ।”

फाल्गुन कति गते अधिवेशन हुन्छ त भन्ने प्रश्नमा अध्यक्ष पाठकले आफू जिल्ला बाहिर रहेकोे भन्दै कार्यालय सचीव पुष्पराज भट्टलाई बुझ्न सकिने बताए ।
कार्यालय सचीव भट्टलाई सम्पर्क गर्दा निर्णय पुस्तिका अध्यक्ष तथा महासचिवको साथमा रहेकोे र निर्वाचन मिति तोकेको भए पनि एकिन मिति आफुलाई स्मरण नभएको बताए ।
यस बारे कार्यसमिति उपाध्यक्ष तेज बोहरालाई बुझ्दा समयमै निर्वाचन हुन नसकेको र निर्वाचन समयमै हुनुपर्नेमा जोड दिए । केही निर्माण व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको आफुले पनि जानकारी पाएको र प्रमुख जिल्ला अधिकारीले बैठक बोलाएर सहजीकरण गर्नेमा उपाध्यक्ष बोहराले आशा व्यक्त गरे ।

































