
धनगढी : कैलालीको चुरे क्षेत्रमा सालको काठ तस्करी बढ्दै गएको छ। डिभिजन वन कार्यालय कैलालीले पछिल्लो एक महिनाको अवधिमा चुरेका विभिन्न स्थानबाट ठूलो परिमाणमा चिरान गरिएको सालको काठ बरामद गरेको छ।

डिभिजन वन कार्यालयका अनुसार एक महिनामा कुल ५३१ दशमलव ४८ क्युफिट सालको चिरान काठ बरामद गरिएको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले चुरे गाउँपालिकाका सामुदायिक वन क्षेत्रबाट ६ पटक र गौरीगङ्गा नगरपालिका–६ बाट एक पटक गरी सात स्थानबाट काठ बरामद गरिएको जानकारी दिए।
उनका अनुसार मंसिर २६ गते कार्यालयमा हाजिर भएपछि चुरे–५ मौरीगाउँबाट वेवारिसे अवस्थामा १४९ दशमलव ९८ क्युफिट सालको २३० थान चिरान काठ बरामद गरिएको थियो। यस्तै, पुस १२ गते गौरीगङ्गा नगरपालिका–६ बाट २५ दशमलव २८ क्युफिट सिसौ काठ, एक थान हातेआरा, एक थान किप्याड मोबाइलसहित गोदावरी नगरपालिका–७ का श्यामबहादुर चौधरी र प्रेम चौधरीलाई नियन्त्रणमा लिइएको उनले बताए।


पुस १९ गते चुरे–२ का विभिन्न तीन स्थानबाट पनि सालको काठ बरामद गरिएको छ। एक सामुदायिक वन क्षेत्रबाट ५९ दशमलव १९ क्युफिट सालका ६८ थान चिरान काठ फेला परेको थियो भने सोही दिन फरक–फरक दुई स्थानबाट ३६ दशमलव ८९ र ५१ दशमलव ५१ क्युफिट काठ वेवारिसे अवस्थामा बरामद गरिएको जनाइएको छ।
त्यसैगरी पुस २० गते चुरे–२ बाट २७७ थान सालको चिरान काठ बरामद गरिएको छ, जसको परिमाण १३९ दशमलव ९७ क्युफिट रहेको वन कार्यालयले जनाएको छ। वन क्षेत्रको सुरक्षा कडा पारिएको र तस्करी नियन्त्रणका लागि अनुगमन तीव्र बनाइएको कार्यालयको भनाइ छ।






























