रास्वपाले एमाले झण्डा जलाएको विरोधमा डोटीमा मसाल जुलुस

Image
Nisarga Hospital

डोटीः राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले दुइ दिन अगाडी दाङमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा जलाएको विरोधमा शनिबार साँझ डोटीमा मसाल जुलुस निकालिएको छ ।
नेशनल भोलेन्टियर फोर्स सुदूरपश्चिम सह–कमाण्डर दिपेन्द्र खड्का नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय डोटी अगाडी मसाल बालेर विरोध जनाएको हो ।
नेशनल भोलेन्टियर फोर्स, राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा मसाल जुलुस निकालेका हुन् ।
कुनै पनि राजनीतिक दलले शान्तिपूर्ण गतिविधी सञ्चालन गर्न पाउने संवैधानिक अधिकार विपरित फाल्गुन २१ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनको मुखमा आएर आफ्नो पार्टीको झण्डा जलाईएकोमा अनेरास्ववियुका पूर्व केन्द्रिय सदस्य तथा नेकपा एमाले डोटी जिल्ला कमिटि सदस्य बिर बहादुर बिष्टले घोर भत्र्सना गरे । उनले भने– ‘कसैले हाम्रो विचार र आस्थाको प्रतिक जलाउँदैमा हामी डगमगाउँदैनौं । तपाईंहरु संविधान मान्ने हो, शान्तिपूर्ण प्रक्रियामा गएर निर्वाचनमा भाग लिने हो । जनताको मतदानको अधिकार प्रयोग गरेर जाने हो भने संविधानलाई मान्नुहोस् ।’
यदि निर्वाचन विथोल्ने प्रयास भएमा अनेरास्ववियु, युवा संघ, नेशनल भोलेन्टियर फोर्सले ठेगान लगाउने नेता बिष्टले चेतावनी समेत दिए ।
हजारौं सहिदको बलिदानी र सबैको रगत पसिनाबाट प्राप्त बहुदलिय व्यवस्थामा कसैको आस्था र पहिचानमाथि आक्रमण गरेकोमा नेशनल भोलेन्टियर फोर्सका सुदूरपश्चिम सहकमाण्डर दिपेन्द्र खड्काले घोर विरोध सहित खेद व्यक्त गरे । यदि सरकारले दोषिमाथि कारवाही नगरे आगामी दिनमा थप आन्दोलन गर्ने उनले बताए । संविधान अनुरुप शान्तिपूर्ण वातावरणमा निर्वाचनमा होमिएका बेला विदेशी दलालका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको झण्डा जलाएकोमा रास्वपाका सभापति रवि लामिछानेले क्षमा माग्नुपर्ने बताए ।
मसाल जुलुसमा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा युवा नेताहरु गणेश ऐर, राहुल बोहरा, अनेरास्ववियु डोटी अध्यक्ष तपेश विश्वकर्मा, युवा नेता सुनिल आउजी लगाएत युवाहरु सहभागि रहेका थिए ।

CP Hospital Dhangadhi
Attariya Hospital