
डोटी: डोटीमा तेश्रो जोरायल महोत्सव २०८२ आयोजना हुने भएको छ ।
युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र ३० गतेदेखि २०८३ बैशाख ४ गतेसम्म ५ दिन महोत्सव आयोजना गर्ने गरी तयारी शुरु गरिएको क्लबका अध्यक्ष पवन कुमार शाहुले जानकारी दिए ।
२०७९ मा पहिलो पटक जोरायल महोत्सव आयोजना गरेको क्लबले २०८० मा दोश्रो जोरायल महोत्सव आयोजना गरेको थियो ।
२०८१ मा निरन्तरता दिन नसके पनि यस वर्ष तेश्रो संस्करणका रुपमा महोत्सव आयोजना हुन लागेको हो ।
स्थानीय मौलिक कला, सँस्कृति संरक्षण, संवद्र्धनसँगै जोरायल क्षेत्रको पर्यटकीय प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन, प्रचारप्रसार, नवप्रतिभा पहिचान एवं प्रोत्साहन, सामाजिक सद्भाव अभिवृद्धी र मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
नयाँ वर्षको उल्लाससँगै यस पटकको महोत्सवमा खुल्ला एकल गायन प्रतियोगिता, जोरायल गाउँपालिका भित्रका माध्यमिक तह स्तरीय एकल नृत्य प्रतियोगिता, कृषि मेला प्रदर्शनी, स्थानीय चौलो, पैसेरी नाच लगाएत प्रदर्शनी, गौरा नाच, लाइभ डेउडा सँगै राष्ट्रिय तथा स्थानीय कलाकारका साँगीतिक प्रस्तुतीहरु महोत्सवका मुख्य आकर्षणका रुपमा रहने जनाईएको छ ।
यसभन्दा पहिलेका दुइ संस्करण जोरायल गाउँपालिकाको केन्द्र वडा नं. ३ रावतकट्टेस्थित रत्न आधारभुत विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो । तर यस पटक जोरायल गाउँपालिका ४ स्थित प्रमूख व्यापारिक केन्द्र रहेको सिलङ्गीबागमा आयोजना गर्ने तयारी भैरहेको छ ।



जोरायलकै गौरवका रुपमा महोत्सव सफल पार्न सम्पूर्ण सरोकारवालासँग रचनात्मक सुझाव, सल्लाह र सहयोगका लागि युनिक युथ स्पोर्टस् क्लबका महासचिव केशव नारायण जोशीले अपिल गरेका छन् ।
‘हाम्रो जोरायल, राम्रो जोरायल’ भन्ने मूल नाराका साथ पहाडी ग्रामीण भेगमा भए पनि उक्त महोत्सवमा १० हजार बढी दर्शकहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्ने र करिब १८ लाखको कारोबार हुने अनुमान गरिएको छ ।
जोरायल गाउँपालिकाको मुख्य प्रवद्र्धनमा विभिन्न प्रवद्र्धक, प्रायोजकहरुको सहयोगबाट सञ्चालन गर्न लागिएको महोत्सवले स्थानीय स्तरमा व्यापार व्यवसायमा समेत आर्थिक रुपमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।
महोत्सव सफल पार्न सरोकारवाला पक्षसँग समन्वय तिव्र पारिएको र आवश्यक कामहरु अगाडी बढाईएको युनिक युथ स्पोर्टस् क्लबका सदस्य धिरजबाबु रोकायाले बताए ।
२०७७ सालमा स्थापना भएको उक्त क्लबले विशेष गरी खेल क्षेत्रसँगै विभिन्न सामाजिक क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको छ ।

































