
छिमक:छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले “ग्लोबल मनी वीक २०२६ (GMW2026)” को अवसर पारेर देशव्यापी रूपमा सञ्चालन गरेको वित्तीय साक्षरता अभियान प्रभावकारी रूपमा सम्पन्न भएको छ। संस्थाले देशका ७ वटै प्रदेशका विभिन्न जिल्लामा रहेका ८० भन्दा बढी शाखामार्फत कार्यक्रम सञ्चालन गर्दै ग्रामीण तथा शहरी समुदायमा वित्तीय सचेतना विस्तार गरेको हो।

उपलब्ध विवरणअनुसार, यस अभियानमा कुल ६,९४४ जना सहभागी भएका छन्। जसमा महिलाको सहभागिता ७६ प्रतिशत (५,३०६ जना) रहेको छ भने पुरुष २४ प्रतिशत (१,६३८ जना) रहेका छन्। यस तथ्याङ्कले विशेषगरी महिलामा वित्तीय पहुँच र सशक्तीकरणको क्षेत्रमा छिमेक लघुवित्तको प्रयास उल्लेखनीय रहेको देखिन्छ।
कार्यक्रमहरू मधेश, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी प्रदेशका विभिन्न स्थानीय तह—नगरपालिका तथा गाउँपालिकामा सञ्चालन गरिएका थिए। विद्यालय, क्याम्पस, महिला समूह, सहकारी सदस्य तथा सर्वसाधारण नागरिकलाई लक्षित गरी विभिन्न प्रकारका सचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रम अन्तर्गत सहभागीहरूलाई बचतको महत्व, ऋणको जिम्मेवार प्रयोग, आयआर्जनका उपाय, साना उद्यम सञ्चालन, वित्तीय योजना निर्माण, तथा डिजिटल बैंकिङ्ग सेवाको सुरक्षित प्रयोग जस्ता विषयमा प्रशिक्षण दिइएको थियो। साथै मोबाइल बैंकिङ्ग, क्यूआर कोड पेमेन्ट, डिजिटल फ्रडबाट जोगिने उपाय लगायतका विषयमा समेत व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
छिमेक लघुवित्तका सामाजिक विकास तथा ग्राहक संरक्षण विभागका प्रबन्धक प्रकाश राजवंशी का अनुसार, “वित्तीय पहुँच मात्र पर्याप्त हुँदैन, त्यसको सही उपयोगका लागि वित्तीय ज्ञान अत्यावश्यक हुन्छ। हाम्रो उद्देश्य ऋण दिने मात्रै नभई ग्राहकलाई सक्षम बनाउने हो। जब ग्राहक सचेत हुन्छन्, तब उनीहरू उद्यमी बन्छन् र आफ्नो आर्थिक अवस्था सुधार गर्न सक्षम हुन्छन्।”

उनका अनुसार, कार्यक्रम विशेषगरी ग्रामीण भेगमा केन्द्रित गरिएको थियो जहाँ अझै पनि वित्तीय सेवाको पहुँच र प्रयोगबारे पर्याप्त जानकारीको अभाव रहेको छ। “हामीले विद्यार्थीदेखि लिएर महिला समूहसम्मलाई लक्षित गर्दै दीर्घकालीन प्रभाव पार्ने किसिमको प्रशिक्षण दिएका छौं,” उनले बताए।
राजवंशीले थपे, “ग्राहक संरक्षण हाम्रो प्राथमिकता हो। वित्तीय साक्षरताले ग्राहकलाई ठगी, अत्यधिक ऋण भार, तथा गलत लगानीबाट जोगाउन मद्दत गर्छ। त्यसैले हामीले डिजिटल सुरक्षा र जिम्मेवार वित्तीय व्यवहारलाई विशेष जोड दिएका छौं।”
कार्यक्रमको क्रममा सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको संस्थाले जनाएको छ। धेरै सहभागीहरूले आफूले पहिलो पटक डिजिटल बैंकिङ्ग र वित्तीय योजना बनाउने तरिका सिकेको बताएका छन् भने केहीले साना व्यवसाय सुरु गर्ने प्रेरणा समेत पाएको बताएका छन्।
छिमेक लघुवित्तले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ बढी समुदायसम्म पुर्याउने लक्ष्य राखेको छ। संस्थाका अनुसार वित्तीय साक्षरता अभियानले दीर्घकालीन रूपमा आर्थिक सशक्तीकरण, आत्मनिर्भरता तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
यस अभियानले “ऋणी होइन, उद्यमी बनौं” भन्ने मूल सन्देशलाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक आर्थिक परिवर्तन ल्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।






























