
कञ्चनपुर: श्री विशाल सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर नगरपालिका–१ निगालीको आयोजनामा लक्षित वर्गका उपभोक्ताहरूका लागि १ महिने सिपमूलक ड्राइभिङ तालिम आजबाट औपचारिक रूपमा सुरु गरिएको छ।

समूहको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना अनुसार विपन्न वर्ग, महिला, दलित, आदिवासी तथा जनजाति लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम आगामी एक महिनासम्म सञ्चालनमा रहनेछ। १ लाख रुपैयाँ बजेटमा सञ्चालन गरिएको यस व्यवसायिक ड्राइभिङ (कार तथा जिप) तालिममा सहभागिताका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र कम्तीमा कक्षा ८ उत्तीर्ण उपभोक्ताहरूबाट आवेदन आह्वान गरिएको थियो। प्राप्त १२ निवेदनमध्ये एक जना वैदेशिक रोजगारका कारण बाहिर रहेका र अर्का एक जनाको आवश्यक कागजात नपुगेपछि बाँकी १० जना सहभागी तालिममा समावेश भएका छन्।

दलित समुदायबाट सहभागिता हुन नसकेको भए पनि अन्य लक्षित वर्गका उपभोक्ताहरूको सहभागिता सुनिश्चित गरिएको समूहका अध्यक्ष सुचित्र शाहले बताएका छन्। तालिम सुरुपाल राष्ट्रिय ड्राइभिङ ट्रेनिङ प्रा.लि झलारीको प्राविधिक सहयोगमा आजबाटै सञ्चालन भइरहेको छ भने यसमा सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्ष समेटिने जनाइएको छ।

तालिममा रमेश बुढा, सुरेश महर, पुष्प बुढा, महेश चाड, सुरेश धानुक, निरज ठकुल्ला, एकेन्द्र रावत, संगिता धमला, मदन राज भण्डारी र हेमकरण बुढा सहभागी रहेका सामुदायिक का अध्यक्ष शाहले बताए। स्थानीय तहमा रोजगारीमूलक सीप विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा विशाल सामुदायिक वन समूहले लिएको छ।































