
कञ्चनपुर : हिजो मात्रै कृष्णपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ र ५ को नतिजा सार्वजनिक गरेको छ । केहि विद्यालयहरूको नतिजा खस्किँदो छ। त्यसमध्ये पनि कतिपय सामुदायिक विद्यालयको अवस्था अझै पनि दयनीय छ। तर कञ्चनपुरको कृष्णपुर ७ मा रहेको सामुदायिक विद्यालय कञ्चन मा.वि. भने नगरपालिका भरिमै सामुदायिक विद्यालयतर्फ प्रथम भएको छ ।

कञ्चन मा.वि.ले यस वर्ष आधारभूत तह कक्षा ८ को कृष्णपुर नगरस्तरीय बोर्ड परीक्षामा ८६.४% विद्यार्थी उत्तीर्ण गराएको छ । विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरीका अनुसार जम्मा ४४ विद्यार्थी सहभागीमध्ये ३८ विद्यार्थी उत्तीर्ण भएका छन् । चौधरीका अनुसार २०८० सालमा २७% , २०८१ मा ६३% र यस बर्ष ८६.४% विद्यालयको नतिजा रहेको छ । जुन विगतका वर्षहरूको नतिजालाई मूल्याङ्कन गर्दा करिब तेब्बरका दरले विद्यालयको नतिजामा सुधार देखिएको छ।” हामी विद्यालय र विद्यार्थीको नतिजा सुधारका लागि दिनरात मेहनत गरिरहेका छौं , विद्यालयका शिक्षक अभिभावकहरूले पनि सहज रूपमा सहकार्य गरिरहेका छन्। हामीले आगामी वर्षहरूमा योभन्दा अझ थप राम्रो नतिजा ल्याउने छौं। “उनले भने । विद्यालयले कक्षा १० को नतिजामा पनि विगतका तुलनामा सुधार गर्दै गइरहेको छ।

विद्यालयको कृतिमानी नतिजाका पछाडि विद्यालय परिवार र अभिभावकहरूको विशेष भूमिका देखिएको छ । विद्यार्थीहरूको समग्र शैक्षिक विकासलाई ध्यानमा राख्दै विद्यालयले २०८१ साल देखी दिवा तथा रात्रिकालीन छात्रावास सुरु गरेको थियो। कञ्चनपुर जिल्लामा सामुदायिक विद्यालयतर्फ यस्तो दिवा–रात्रिकालीन छात्रावास सञ्चालन गर्ने कञ्चन मा.वि. पहिलो विद्यालय हो । छात्रावासलाई थप प्रभावकारी बनाउनका लागि स्थानीय जनप्रतिनिधिले पनि बेलाबेला अनुगमन गरेको पाइएको छ । विद्यार्थीहरूको नतिजा सुधारका लागि विद्यालयले अतिरिक्त कक्षाहरू पनि सञ्चालन गरिरहेको छ।
































