
अत्तरिया : सुदूरपश्चिम प्रदेशको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा नायल ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

कैलालीको चुरे क्षेत्र अन्तर्गत गोदावरी नगरपालिका–१२ मा अवस्थित यो ताल विशाल क्षेत्रफलमा फैलिएको छ भने चारैतिर हरियाली पहाडले घेरिएकाले उपत्यकाजस्तो मनमोहक दृश्य प्रस्तुत गर्दछ।
स्थानीय जनविश्वास अनुसार प्राचीन समयमा यस क्षेत्रमा ९ वटा विशाल ताल रहेका कारण यस स्थानको नाम “नायल” रहन गएको हो। नायल तालको निलो पानी, शीतल हावा, काफल तथा लालिगुराँसले भरिएको प्राकृतिक वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ।


कञ्चनपुरको कृष्णपुर–२ स्थित बनहरा पुलबाट उत्तरतर्फ पर्ने बंक–नायल सडकखण्ड हुँदै कृष्णपुर–१ बाट करिब २२ किलोमिटर दूरीमा रहेको यो ताल मोटरसाइकल तथा सवारी साधनमार्फत २५ देखि ३५ मिनेटमै पुग्न सकिन्छ। तराईदेखि पहाड जोड्ने छोटो मार्गका रूपमा विकास भइरहेको यस सडकमार्फत नायल, डडेल्धुरा हुँदै बुडरसम्मको यात्रा थप सहज बन्ने अपेक्षा गरिएको छ।
प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको नायल तालको प्रचार–प्रसार र संरक्षणमा सबै पक्ष लाग्नुपर्ने स्थानीयको भनाइ छ। पर्यटन प्रवर्द्धनमार्फत सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

































