
बैंतडी: “स्वच्छ गाँजरी बजार, हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नारासहित सञ्चालन गरिएको बैतडी जिल्लाको सिगासमा रहेको मुख्य बाजर क्षेत्र गाँजरी बजार सरसफाई अभियान प्रभावकारी रूपमा सम्पन्न भएको छ। सिगास युवा क्लबको आयोजनामा सञ्चालित उक्त अभियानले स्थानीय स्तरमा सरसफाईप्रति जनचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

अभियानमा वडा कार्यालय, सुरक्षा निकाय, विभिन्न संघ–संस्था, महिला समूह, व्यापारी समुदाय, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको सक्रियता र सहकार्यका कारण बजार क्षेत्रको सरसफाईसँगै वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्यप्रति सचेतना विस्तार भएको आयोजकले जनाएको छ।


अभियान सफल पार्न सहयोग, समन्वय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्णप्रति आयोजक सिगास युवा क्लबले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। विशेषगरी सारथी नेपालको अमूल्य सहयोग, प्रेरणा तथा सामाजिक सेवाप्रतिको प्रतिबद्धताले अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

सिगास युवा क्लबका अध्यक्ष हेमन्त धामीले सामूहिक प्रयास बिना दीगो सरसफाई सम्भव नहुने उल्लेख गर्दै यस्ता अभियानले नागरिकमा जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरे। उनले आगामी दिनहरूमा पनि सरसफाई, वातावरण संरक्षण तथा सामाजिक सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिँदै सबै पक्षको सहकार्य अपेक्षित रहेको बताए।
स्थानीय तहमा सञ्चालन गरिएका यस्ता अभियानहरूले सकारात्मक सामाजिक परिवर्तनका लागि आधार तयार पार्दै सफा, सुन्दर र सभ्य समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
































