
कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ मा स्थानीय बासिन्दाको स्वास्थ्य सुधार, दाउरा खपत न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने उद्देश्यले १ सय १९ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ।

वडा अध्यक्ष पहल बहादुर थापाले परम्परागत चुलोबाट निस्कने धुवाँका कारण विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सुधारिएको चुलो वितरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले सुधारिएको चुलोको प्रयोगले घरभित्रको धुवाँ कम हुने, खाना पकाउन सहज हुने तथा दाउराको खपत घट्ने उल्लेख गरे।
वडा अध्यक्ष थापाले स्थानीयवासीलाई वितरण गरिएका चुलोको सही प्रयोग र संरक्षण गर्न आग्रह गर्दै यस्ता कार्यक्रमले वातावरणीय संरक्षणसँगै नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा पनि नागरिकको आवश्यकता र हितलाई केन्द्रमा राखेर विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले यस्ता कार्यक्रमले स्वच्छ ऊर्जा प्रवर्द्धन र वातावरण संरक्षणमा ठोस टेवा पुग्ने बताउँदै गाउँपालिकालाई दिगो विकासको मार्गमा अघि बढाउने लक्ष्य रहेको उल्लेख गरे।


यो कार्यक्रम हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ८० प्रतिशत, स्थानीय तहको १५ प्रतिशत र स्थानीय लाभग्राहीको ५ प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको हो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सामाजिक परिचालक सौरव भट्टका अनुसार गाउँपालिकाका सबै वडामा ५ सय ६० वटा सुधारिएको चुलो, ५ सय ६० वटा इन्डक्सन चुलो र १० वटा गोबर ग्यास वितरण गरिनेछ। साथै वडा नं. २ मा आजै १ सय १७ वटा सुधारिएको चुलो वितरण गरिएको छ।
त्यस्तै वडा नं. १, ३, ४ र ६ मा समेत भोलि चुलो वितरण गरिने कार्यक्रम रहेको छ।
स्थानीयवासीले सुधारिएको चुलो पाएपछि खाना पकाउन सहज हुने, इन्धन बचत हुने तथा धुवाँका कारण हुने स्वास्थ्य समस्या घट्ने अपेक्षा व्यक्त गरेका छन्।































