
कञ्चनपुर : “स्थानीय खोपको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ कृष्णपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएको छ।

कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत स्वास्थ्य शाखा, गुलरिया कञ्चनपुरको आयोजनामा आइतबार सम्पन्न घोषणा कार्यक्रममा पालिका खोप समन्वय समितिका प्रमुख तथा कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझाको सभाध्यक्षता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले खोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, अभिभावक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी राना, कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्ट, कृष्णपुर–८ का वडा अध्यक्ष दिनेश खड्का, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्रसिंह रावल, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रसिंह धामी, स्वास्थ्य शाखा प्रमुख बंसीराज भट्ट, इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख विशनदत्त भट्ट, अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाका प्रमुख भरतबहादुर शाही, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कृष्णपुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको तथा आगामी दिनमा समेत खोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

वक्ताहरूले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिक उपलब्धि नभई समुदायको स्वास्थ्य सुरक्षाप्रतिको साझा जिम्मेवारी भएको उल्लेख गर्दै खोपबाट वञ्चित हुने कुनै पनि बालबालिका नरहने वातावरण निर्माण गर्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
नगरपालिकाले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, अभिलेखीकरण तथा समुदायस्तरको जनचेतनामूलक गतिविधिमार्फत पूर्ण खोप सुनिश्चितता तथा यसको दीगोपना कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा भएसँगै कृष्णपुर नगरपालिकाले बाल स्वास्थ्य तथा रोग नियन्त्रणको क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ।
उक्त कार्यक्रममा खोप तथा स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।





































