
कञ्चनपुरः निड्स नेपालको आयोजना तथा सुरक्षित आवास (सेफर) परियोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिका झलारीस्थित सभाहलमा मंगलबार ‘जनतासँग जनप्रतिनिधि संवाद कार्यक्रम–२०८३’ सम्पन्न भएको छ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका स्थानीय नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष सवाल–जवाफ तथा अन्तरक्रिया गरिएको थियो। सहभागी नागरिकहरूले स्थानीय तहमा रहेका विभिन्न समस्या, आवश्यकता तथा गुनासाहरू जनप्रतिनिधिसमक्ष राखेका थिए भने जनप्रतिनिधिहरूले ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवाद कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वडा नं. १, १० र १२ का सामुदायिक विपद् व्यवस्थापन समितिमा आबद्ध स्थानीयवासी, विपद् प्रभावित क्षेत्रका नागरिक तथा मुक्तकमैया समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका सहजकर्ताका रूपमा सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट रहेका थिए।
निड्स नेपालद्वारा सञ्चालित सुरक्षित आवास (सेफर) परियोजनाकी कार्यक्रम संयोजक सरस्वती पुरी बम ले स्थानीय नागरिकमा आफ्ना जनप्रतिनिधिसँग प्रत्यक्ष प्रश्न गर्ने क्षमता विकास गर्नुका साथै जनता र जनप्रतिनिधिबीचको दूरी घटाई उत्तरदायी स्थानीय शासन प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना कुमारी जोशी पन्त, प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, वडा नं. १, १० र १२ का जनप्रतिनिधिहरू तथा निड्स नेपालकी उपाध्यक्ष तारादेवी धामी लगायतको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम अस्ट्रेलियन एड (Australian Aid), हेबिटाट फर ह्युम्यानिटी अष्ट्रेलिया तथा हेबिटाट फर ह्युम्यानिटी नेपाल को साझेदारीमा सञ्चालन गरिएको सुरक्षित आवास (सेफर) परियोजनाअन्तर्गत आयोजना गरिएको हो।
स्थानीय तहमा जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्दै सुशासन, जवाफदेहिता तथा नागरिक सहभागिता अभिवृद्धि गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।




































