भ्रामक भिडियोप्रति जिल्ल प्रशासन बझाङको आपत्ति : सेवा प्रवाह नियमित रहेको दाबी

Image
Nisarga Hospital

बझाङः जिल्ला प्रशासन कार्यालय, बझाङले सामाजिक सञ्जालमा फैलाइएको एउटा अडियो/भिडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त सामग्रीमा कार्यालय समयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहायक प्रमुख जिल्ला अधिकारी कार्यकक्षमा अनुपस्थित रहेको दाबी गरिएको भए पनि प्रशासनले त्यसलाई वास्तविकताविहीन, गलत र भ्रामक सूचना भएको स्पष्ट पारेको छ।

CP Hospital Dhangadhi

कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा प्रसारित सामग्रीले सेवाग्राही र आम नागरिकमा भ्रम सिर्जना गर्ने प्रयास गरेको उल्लेख गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालयका जिम्मेवार अधिकारीहरू सरकारी कार्यक्रममा सहभागी हुँदा पनि सेवा प्रवाहलाई प्रभावित हुन नदिइएको जनाइएको छ।

विज्ञप्तिअनुसार जयपृथ्वी नगरपालिका–४ स्थित बालविकास माध्यमिक विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सहभागी भएको समयमा समेत कार्यक्रमस्थलबाटै सेवा प्रवाहमा सहजीकरण गरिएको थियो। त्यसैले वास्तविकता नबुझी सामाजिक सञ्जालमा तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रशासनले आग्रह गरेको छ।

nawajiwan
Attariya Hospital

जिल्ला प्रशासन कार्यालयले हाल सेवाग्राहीको चाप अत्यधिक रहेकाले आवश्यकताअनुसार साँझ ८ बजेसम्म कार्यालय खुला राखेर नागरिकता लगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कार्यालयबाट दैनिक रूपमा नागरिकता, राहदानीसम्बन्धी सहजीकरण, शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, बजार अनुगमन तथा नेपाल सरकारले तोकेका अन्य प्रशासनिक कार्यहरू निरन्तर सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, असार ६ गतेदेखि १२ गतेसम्म मनाइँदै आएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा विभिन्न सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी पनि दिइएको छ।

प्रशासनले नागरिकलाई सामाजिक सञ्जालमा फैलाइने अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ।