
डोटी: दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले डोटी सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयलाई मंगलबार खेल सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त वडाका अध्यक्ष नरेश मलासी लगाएत वडाको टिमले विद्यालयमै गएर प्रधानाध्यापक केशवराज ओझालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

वडाको आर्थिक वर्ष २०८२/८३ को स्विकृत कार्यक्रम अन्तरगत करिब ५० हजार बराबरका क्रिकेट, भलिबल, फुट्बल लगाएतका खेल सामाग्री वितरण गरिएको उक्त वडा सचिव हरि सुन्दर श्रेष्ठले जानकारी दिए ।
खेल सामाग्री हस्तान्तरण गर्दा वडा अध्यक्ष मलासीले विद्यालयका विद्यार्थी क्याप्टेन मनिषा डौडीलाई क्रिकेटमा प्रयोग हुने हेल्मेट, ग्लोभ्स, ब्याटिङ्ग प्याड समेत लगाईएदिएका थिए ।


सामाग्री वितरणपछि संक्षिप्त प्रतिक्रिया दिंदै वडा अध्यक्ष मलासीले विद्यार्थी खेलाडीहरुले अनुसाशित भएर खेल खेल्नुपर्ने, लागु औषध जस्ता दुव्र्यशनबाट मुक्त रहनुपर्ने र पठनपाठनमा विशेष ध्यान दिनुपर्ने बताए ।
विद्यालयलाई खेल सामाग्री दिएर सहयोग गरेकोमा वडा परिवारलाई धन्यवाद दिंदै विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले वडा अध्यक्षले दिएको सन्देश बमोजिम विद्यार्थी खेलाडी अनुशासित र लगनशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा सदस्य श्यामराज जोशी, वडा सचिव हरि सुन्दर श्रेष्ठ, विद्यालयका शिक्षक, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहेको थियो ।



































