
कञ्चनपुर: लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकीको आयोजनामा, स्वास्थ्य कार्यालय कञ्चनपुरको विशेष सहयोग तथा के.जी. हस्पिटल, धनगढीको प्राविधिक सहयोगमा शनिबार सञ्चालन गरिएको १ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविरबाट ३ सय ५१ जना स्थानीय नागरिक लाभान्वित भएका छन्।

देखतभुली स्वास्थ्य चौकी प्रमुख लिलाकान्त झाका अनुसार शिविरबाट २ सय ८७ जना महिला र ६४ जना पुरुष गरी कुल ३ सय ५१ जनाले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका हुन्। सेवाअनुसार ६१ जनाले स्त्रीरोग सम्बन्धी सेवा, २२१ जनाले हाडजोर्नी सेवा, १५३ जनाले जनरल मेडिसिन सेवा तथा १६ जनाले सर्जरी सम्बन्धी परामर्श तथा उपचार सेवा लिएका थिए।

कार्यक्रमका सभाध्यक्ष तथा लालझाडी गाउँपालिका–५ का वडा अध्यक्ष एवं देखतभुली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पहल बहादुर थापाले ग्रामीण बस्तीका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता रहेको बताए। यस्ता स्वास्थ्य शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकलाई ठूलो राहत पुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सम्बन्धित निकायसँग समन्वय गरिने बताए। उनले स्वास्थ्य सेवा गाउँमै पुग्नु नागरिकका लागि ठूलो उपलब्धि भएको भन्दै सहयोग गर्ने सबै निकाय तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दिपेन्द्र सिंह रावल प्रमुख अतिथि तथा क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका फोकल पर्सन मनोज प्रसाद ओझा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी के.जी. हस्पिटलका विशेषज्ञ चिकित्सक डा. दिपक कुमार सिंह, डा. सन्दीप ओली, डा. सहील डङौरा र डा. सोनी सिंह कठायतसहित स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि वडा सदस्यहरु तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष अमर सिंह धामीले गरेका थिए।
विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। यस्ता शिविरले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।



































