डोटीमा दिपायल पिपल्ला बजारको `ट्राफिक व्यवस्थापन´सधैं अस्तव्यस्त

Image
Nisarga Hospital

डोटी: डोटीको प्रमूख व्यापारिक केन्द्र दिपायलको पिपल्ला बजारमा ट्राफिक व्यवस्थापन प्राय अस्तव्यस्त हुने गरेको छ ।
गत आर्थिक वर्ष २०८२र८३ मा मात्रै बीचमा डिभाइडर सहित निर्माण गरि व्यवस्थित रूपमा विस्तार गरिएको सडकमा जथाभावी पार्किङ गर्दा समस्या हुने गरेको हो ।

CP Hospital Dhangadhi

सबै सवारी साधन अट्ने खालको र पार्किङको लागि पायक पर्ने ठाउँमा व्यवस्थित बसपार्क नहुनु यसको प्रमुख समस्या हो ।
यसका साथै यातायात व्यवसायीले आफ्नो सहजता र यात्रुको सहजताका लागि बजार क्षेत्रमै सडकमा पार्किङ गर्ने गरेको देखिन्छ ।
ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनुमा कुनै एउटा निकायको मात्रै कमजोरी नभएर सबै सरोकारवालाहरुले उचित ध्यान दिन नसकेको दिपायल सिलगढी नगरपालिका ६ का राजु नेपाली बताउँछन् ।

nawajiwan

हिजो सोमबार मात्रै उनले आफ्नो सामाजिक संजाल फेसबुकमा पिपल्लाको अस्तव्यस्तताको भिडियो पोस्ट गरेका छन् ।
विशेष गरी दिपायल सिलगढी नगरपालिका, सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी समिति, यातायात व्यवसायी र यात्रुहरु सबैले उचित ट्राफिक व्यवस्थापनका लागि जिम्मेबार बन्नुपर्ने उनको भनाई छ ।

राजमार्गमै सवारी साधन रोकेर बसपार्क जस्तै देखिने गरेको दिपायल पिपल्लाका सामाजिक अभियन्ता तेज डुम्रेलको टिप्पणी छ ।
साना तथा ठूला सबै खालका सवारी साधनको पार्किङ्ग समस्या सँगै अटोहरुमा क्षमताभन्दा बढी यात्रु बोक्ने, परमिट भएको बाहेक सिट हटाउने, वर्षातको समयमा ग्रामिण कच्चि सडकमा सवारी नियन्त्रण गर्ने लगाएत ट्राफिक प्रहरीका लागि अहिलेका चुनौती रहेको एक ट्राफिक प्रहरीले बताए ।

Attariya Hospital

ट्राफिक व्यवस्थापन फितलो भएको सन्दर्भमा सवारी साधनलाई पार्किङ गर्दा ठाडो (भर्टिकल) मा नभएर समानान्तर (प्यारेलल) रूपमा राख्न लगाउने, अलिकति लामो अवधि रोक्ने सवारीलाई अलिकति भित्री भागको खाली ठाउँमा राख्न लगाउने गरि आफुले ट्राफिक प्रहरी कार्यालय डोटी प्रमुखलाई निर्देशन गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले बताए । यसका साथै तोकिएको सिट क्षमताभन्दा बढी जोडिएका सिट काट्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारवाही गर्ने लगाएत काम नियमित भैरहेको बोहराले बताए ।

पिपल्ला बजारमा स्थानीय व्यक्तिको निजी जमिन भाडामा लिएर सञ्चालनमा रहेकोे बसपार्क निकै सानो रहेको छ भने प्रायःजसो सवारी चालक र सवारी धनीहरु बसपार्कमा सवारी साधन पार्किङ नगर्नु प्रमुख समस्या हो ।

पर्याप्त सवारी साधन अट्ने बसपार्क नहुँदासम्म ट्राफिक व्यवस्थापनमा समस्या हुने ट्राफिक कार्यालय दिपायल डोटीका निमित्त प्रमुख सहायक प्रहरी निरीक्षक ज्ञानेन्द्र धामीले बताए । तर पनि बजार क्षेत्रमा एकतर्फी पार्किङ गरेर भए पनि समस्यामा केही हदसम्म समाधान गर्न सकिने र यसमा सबैले सहयोग गर्नुपर्ने धामीले बताए । भोलि साउन १३ गते बिहान ९ बजेसम्ममा सवारी साधनहरु समानान्तर (प्यारेलल) रूपमा राख्न लगाएर व्यवस्थित गरिने उनलेे दावी गरेका छन् ।

उनलेे भने-“एसपी सावको निर्देशन छ । म र मेरो टिम यसमा खटिरहेको छ । भोलि बिहान ९ बजेसम्ममा सवारी साधनहरु समानान्तर (प्यारेलल) रूपमा राख्न लगाएर व्यवस्थित गरिन्छ । ढुक्क हुनुहोस् तपाईं देख्नसक्नुहुनेछ ।´´
कार्यालय प्रमुख धिरज पाठक तालिमको लागि जिल्ला बाहिर रहेकोले कार्यालयमा पुगेपछि थप व्यवस्थापन हुने उनलेे बताए ।