
डोटी: मदिरा सेवनका कारण महिलामाथि हुने हिंसा बढ्दै गएको भन्दै डोटीको जोरायल गाउँपालिकाका महिलाहरूले मदिरा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।
शुक्रबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी जोरायल गाउँपालिका–६ की चन्द्रा साउँदले मदिराका कारण महिलाले सार्वजनिक स्थानमा समेत टाउको निहुराएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको बताइन्।

‘मदिराकै कारण गाउँ–गाउँमा लैङ्गिक हिंसा र घरेलु हिंसाका घटना बढिरहेका छन्। यो मदिरा नियन्त्रण गर्ने जिम्मेवारी कसको हो?’ उनले प्रश्न गरिन्।
यसै साता बुधवार मात्रै जोरायल गाउँपालिका–४ देउथलामा मदिराकै कारण आफ्नै श्रीमानबाट एक महिलाको हत्या भएको घटनाको स्मरण गर्दै उनले भनिन्, ‘के महिलाहरूले यसरी नै ज्यान गुमाइरहनुपर्ने हो त?’

सामाजिक क्षेत्रमा कार्यरत जोरायल गाउँपालिका ३ निवास यशोदा मल्लले पनि मदिरा सेवन गरेर सार्वजनिक स्थानमा अश्लील शब्द प्रयोग गर्दै झगडा गर्ने प्रवृत्ति बढेकाले महिलालाई बाटोमा हिँड्न समेत डर लाग्ने अवस्था सिर्जना भएको गुनासो गरिन्।
‘मदिरा सेवन गरेर होहल्ला र झगडा हुँदा प्रहरीलाई खबर गर्दा पनि विभिन्न बहाना बनाइन्छ,’ उनले भनिन्। उनका अनुसार अधिकांश परिवारमा श्रीमानले मदिरा सेवनपछि श्रीमतीमाथि कुटपिट सहित हिंसा गर्ने गरेका छन्।
उनले जोरायल गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न माग गर्दै विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा अन्य सार्वजनिक निकाय वरपर रहेका मदिरा पसल हटाइनुपर्ने र मदिरा बिक्री–वितरणको समयसमेत निश्चित गरिनुपर्ने बताइन्।
‘सार्वजनिक सरकारी संस्थाहरु र प्रहरी कार्यालय नजिकै मदिराका पसल छन्, मदिराको गन्ध कार्यालयभित्रसम्म पुग्ने अवस्था छ,’ उनले थपिन्।

कार्यक्रममा सहभागी अधिकांश महिलाले मदिरा नियन्त्रण गरी महिलामाथि हुने हिंसा रोक्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।
ईलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायब निरीक्षक पदम सिंह साउँदले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने जो–कोहीमाथि कानुनबमोजिम आवश्यक कारबाही गरिने बताए।
‘विगतमा के भयो भन्ने मलाई थाहा छैन। तर म आएको २ महिना भयो । म आएपछि यस्ता गतिविधिमा कडाइ गर्दै आएको छु,’ उनले भने।
जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझाले मदिरा नियन्त्रणका लागि सबै सरोकारवाला निकायको सामूहिक पहल आवश्यक रहेको बताए। उनले आफ्नो वडाबाट मदिरा पसल सञ्चालनका लागि गरिने सिफारिसमा कडाइ गरिएको जानकारी दिँदै विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकाय वरपर मदिरा बिक्री–वितरण हुन नहुने धारणा राखे।
‘जिल्ला प्रशासन कार्यालय डोटीको गेटबाट १० मिटरको दुरिमा मदिरा पसल छ। नियमन गर्ने निकाय गाउँसम्म कसरी पुग्ला?’ उनले प्रश्न गरे।
जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले पनि मदिराका कारण महिलाहरू असुरक्षित बन्दै गएको विषयमा सहमति जनाइन्।
गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने मदिराको इजाजतपत्र रद्द गर्ने अधिकार स्थानीय तहलाई नभएकोले समस्या रहेको स्पष्ट पारे।
‘हामी मदिरालाई नियमन गर्ने निकाय होइनौं। मदिराको इजाजतपत्र कोष तथा लेखा नियन्त्रण कार्यालयले जारी गर्छ,’ अध्यक्ष ओझाले भने, ‘मदिरा नियन्त्रणका लागि प्रशासन, प्रहरी र कोष तथा लेखा नियन्त्रण कार्यालयले समन्वय गरेर पहल गर्नुपर्छ।’
उनले सबै सरोकारवाला निकायको साझा प्रतिबद्धता र सहकार्य भएमा जोरायल गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने विषयमा आवश्यक पहल गर्न सकिने बताए।































