चक्र मल्लको यात्रा – विद्यार्थी राजनीतिदेखि प्रदेश आर्थिक मामिला मन्त्रीसम्म

Image
Nisarga Hospital

डोटी: नेकपा एमाले केन्द्रिय सदस्य एवं डोटी इन्चार्ज चक्र मल्ल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार नियुक्त भएका मल्लले सपथ ग्रहण समेत गरिसकेका छन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

को हुन् चक्र मल्ल ?

वि.संं २०३७ साल बैशाख २० गते बुबा प्रताप मल्लर आमा मन कुमारी मल्लको कोखबाट जन्मिएका मल्ल २०४९ सालमा डोटीको उच्चाकोटमा अवस्थित सिताराम उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दादेखि नै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटि सदस्यमा आवद्ध भएर राजनीतिमा जोडिएका हुन् ।त्यसपश्चात २०५१ सालमा नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिने डोटीको गोपघाटमा अवस्थित राधाकृष्ण मा.वि. मा अनेरास्ववियुको अध्यक्ष बनेका थिए ।

विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय बेनका नेता मल्ल डोटी बहुमुखी क्याम्पसमा वि.सं. २०५३ सालतिर अनेरास्ववियुको प्रारम्भिक कमिटि अध्यक्ष हुँदै २०५७ सालमा उक्त क्याम्पसको स्ववियु सभापति बनेर आफुलाई अझै प्रभावशाली रुपमा स्थापित गर्न सफल भए । त्यस्तै स्ववियु काउन्सिलको केन्द्रिय सदस्य समेत बनेका नेता मल्ल अनेरास्ववियु डोटीको दुई कार्यकाल जिल्ला अध्यक्ष भएर जिम्मेवारी बहन गरेका थिए । २०६४ सालतिर नेकपा एमालेको जिल्ला कमिटि सदस्य बनेका मल्ल २०६६ सालमा पार्टीको जिल्ला कमिटि उपाध्यक्षमा निर्वाचित भए । एमाले राजनीतिमा दुइ पटकसम्म राष्ट्रिय प्रतिनिधी परिषद सदस्य बनिसकेका नेता मल्ल २०६९ मा एमाले डोटी जिल्ला अध्यक्षमा निर्वाचित भए । जुन समयमा देशभरका साविकका ७५ वटा जिल्लामध्ये सबैभन्दा कम उमेरमा जिल्ला अध्यक्ष बनेर उनले एमाले पार्टीभित्र नेपालमै छुट्टै पहिचान बनाए ।अंग्रेजीबाट एम.ए. उत्तिर्ण गरेका मल्ल लामो समयसम्म शिक्षण पेशामा संलग्न थिए ।

डोटीको सानागाउँमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा झण्डै एक वर्षभन्दा बढी अध्यापन गरेका उनी उक्त विद्यालयमा उच्च माध्यमिक तहको संयोजकको भूमिकामा थिए । त्यस्तै डोटी बहुमुखी क्याम्पसमा झण्डै ९ वर्ष प्राध्यापन गरेका उनी उक्त क्याम्पसमा अंग्रेजी विषय विभाग प्रमूख एवं त्रिभुवन विश्वविद्यालय अन्तरगत अंग्रेजी विषय विभागको केन्द्रिय सदस्य भएर काम गरेका थिए । केही समय उनलेे प्रभात उच्च माध्यमिक विद्यालयमा पनि अध्यापन गरेका थिए ।प्राध्यापनमार्फत राम्रै आम्दानीसँग जोडिएका मल्लको बढी झुकाव राजनीतिमा भएपछि जिम्मेवारीबाट राजीनामा दिएर पूर्ण रुपमा राजनीतिमा होमिएका व्यक्ति हुन् । उसो त नेता मल्ल करिब डेढ दशकदेखि व्यावसायिक रुपमा बंगुरपालन, कुखुरापालन, तरकारी खेती, फलफुल खेती, जडिबुटी खेतीमा पनि संलग्न छन् बहने स्थानीय गौरेली गाउँमा मुना मेमोरियल एकेडेमी सञ्चालन गर्दै आएका छन् ।

२०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता भएसङ्गै बनेको नेकपाको पनि २०७६ साल बैशाख ८ गते डोटी जिल्ला अध्यक्ष बनेका थिए । जुन समयमा तत्कालीन नेकपाका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार थियो । यद्यपि नेकपा भित्रको खटपटका कारण तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा संसद विघटन गरेसङ्गै अग्रगमन र प्रतिगमनका नाममा नेता, कार्यकर्ता विभाजित भए । ‘नेकपा’ नामबाट पहिले नै निर्वाचन आयोगमा दल दर्ता भैसकेको बारे सर्वोच्च अदालतमा परेको उजुरीपछि २०७७ फाल्गुन २३ मा भएको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई पुर्ववत दुई पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कन भनेपछि नेकपाबाट फ़ेरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुरानै अस्तित्वमा फर्केका थिए ।पार्टीको आन्तरिक राजनीतिक सङ्क्रमणका कारण लामो समय पार्टी अस्तव्यस्त रहे पनि २०७८ कार्तिक २७ गतेको सहमति अनुसार २०७५ जेठ २ को अवस्थामा पार्टी पुनः जाग्रीत गर्ने भन्दै अध्यक्ष चक्र मल्लकै नेतृत्वमा एमाले डोटी एकढिक्का भएर अघि बढेको थियो । त्यसपश्चात २०७८ पुस २३ देखि २६ सम्म सेती सभाहल राजपुरमा सम्पन्न भएको नेकपा एमाले डोटीको आठौं जिल्ला अधिवेशनबाट मल्ल फ़ेरि डोटी जिल्ला अध्यक्ष बनेका थिए ।

त्यसयता २०८२ असार २१ मा उनलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोनीत गरिए पनि उनलेे जिम्मेवारी भने सम्हालेनन् ।
भक्तपुरको सल्लाघारीमा २०८२ मंसिरमा भएको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट एमाले नेता मल्ल केन्द्रिय सदस्य निर्वाचित भए । सुदूरपश्चिम भुगोलबाट खुल्ला सदस्यमा भएको निर्वाचनमा सबैभन्दा बढी १,४८६ मत प्राप्त गरी निर्वाचित भएका थिए । त्यसपछि उनी अहिलेसम्म एमाले केन्द्रिय कमिटी सदस्य तथा डोटी जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् ।

चुनावी राजनीतिमा पहिलोमा हार, दोस्रोमा सफलता

वि.स. २०७४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा डोटी निर्वाचन क्षेत्र ‘क’ बाट पहिलोपटक उम्मेदवार बनेका नेता मल्लले पराजय भोग्नुपरेको थियो । तत्कालीन बाम गठबन्धनका साझा उम्मेदवार हुँदाहुँदै पनि उनी ६१४ मतान्तरले पछि परे । बाम गठबन्धनसंग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले १७ हजार ४०६ मत पाउँदा मल्लले १६ हजार ७९२ मत पाएर पराजित भएका थिए ।

तर २०७९ मंसिर ४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा भने मल्लले नेपाली कांग्रेस डोटी जिल्ला सभापतिसमेत रहेका सत्ता गठवन्धनका उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पराजित गरे । मल्लले १५ हजार २७९ पाउँदा सिंहले १४ हजार ८२९ पाए । यससँगै मल्ल पहिलोपटक सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका रूपमा प्रवेश गरे।

प्रदेश सभा सदस्य बनेपछि मल्लले एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलमा महत्वपूर्ण जिम्मेवारी पाए।
२०८१ साउनमा उनी नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक चयन भए।
प्रमुख सचेतकका रूपमा उनले प्रदेश सभामा एमालेका सांसदहरूबीच समन्वय गर्ने, संसदीय दलको निर्णय कार्यान्वयन गराउने तथा सरकारका नीति, कार्यक्रम र बजेटका विषयमा दलको धारणा राख्ने भूमिका निर्वाह गरे।

बजेटमाथि आफ्नै सरकारलाई प्रश्न

प्रमुख सचेतकको जिम्मेवारीमा रहँदा मल्लले आफ्नै पार्टी नेतृत्वको सरकारको बजेटमाथि पनि प्रश्न उठाएका थिए। २०८३ असारमा सुदूरपश्चिम सरकारले ल्याएको बजेटमा एमाले सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गर्दा मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए।
यसले प्रदेश सरकारभित्र बजेटको प्राथमिकता र कार्यान्वयनका विषयमा उनले राख्दै आएको राजनीतिक अडानलाई झल्काउँछ ।
ऊनी बोलीमा प्रखर, अडानमा शशक्त, जुझारु, कुशल संगठक एवं कुटनीतिक चातुर्य भएको व्यक्तिका रुपमा परिचित छन् ।

यिनै अडानका बिच एमाले–कांग्रेसबीचको सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन भएको छ। नेकपाका नेता खगराज भट्ट मुख्यमन्त्री बनेको नयाँ सरकारमा मल्लले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
प्रदेश सरकारको बजेट निर्माण, स्रोत व्यवस्थापन, राजस्व, आर्थिक नीति तथा प्रदेशको समग्र वित्तीय योजनासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसरी पूरा गर्छन् त्यो हेर्न बाँकी छ ।