गाउँमै हेयर कटिङ्ग व्यवसाय गर्दै रोहित, सन्तोषजनक आम्दानी

Image
Nisarga Hospital

डोटीः डोटीको जोरायल गाउँपालिका–४ का २२ वर्षीय रोहित कुमार बिसी केही वर्ष पहिले प्लस टु पढ्दापढ्दै रोजगारीको खोजीमा भारत पुगे।
कुनै सीप नसिकेका रोहितलाई एक जना चिनजानका दाइले हेयर कटिङ्ग सेन्टरमा काम सिक्ने अवसर दिलाए। जहाँ आफुले पाँच महिनासम्म बिना तलब काम गर्दै कपाल काट्ने तथा सेभिङ गर्ने लगायतका सामान्य सीप सिकेको उनी बताउँछन् । त्यहाँ आर्थिक रूपमा गुन्जायस नचलेपछि उनी नेपाल फर्किए र आफ्नै गाउँमा व्यवसाय गर्ने सोच बनाए।

CP Hospital Dhangadhi

अहिले आफ्नै गाउँमा हेयर कटिङ्ग व्यवसाय सञ्चालन गरेर रोहितले आत्मनिर्भर बन्ने प्रयासमा छन्। गाउँमै बसेर व्यवसाय गर्न सकिन्छ भन्ने सोचका साथ उनले जोरायल गाउँपालिका–४ स्थित प्रमुख व्यापारिक बजार सिलङ्गीबागमा “रोहित हेयर कटिङ्ग सेन्टर” सञ्चालन गरिरहेका छन्।
शुरूवातमा अर्कैले सञ्चालन गरिरहेको हेयर कटिङ्ग पसल उनले करिब २० हजार रुपैयाँमा किने । त्यसपछि आवश्यक सामग्री थप्दै जाँदा व्यवसायमा उनको कुल लगानी करिब ५० हजार रुपैयाँ पुगेको उनी सुनाउछन्।

रोहितले अहिले कपाल काटेको १०० रुपैयाँ र सेभिङ गरेको ५० रुपैयाँ लिने गरेका छन्। उनको पसलमा दैनिक आउने ग्राहक संख्या तलमाथि भए पनि औसतमा ६–७ जना ग्राहक आउने गर्छन्। उनलेे पसलको मासिक भाडा १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। अन्य सबै खर्च कटाएर मासिक करिब २० हजार रुपैयाँ जति बचत हुने गरेको उनी बताउँछन्।
‘ग्राहक नआएर पसल खाली भएको दिन अहिलेसम्म सम्झनुपरेको छैन,’ रोहित भन्छन्, ‘गाउँमै बसेर आफ्नो सीपअनुसार काम गर्न पाउँदा खुसी छु।’
गाउँमै व्यक्तिगत व्यवसाय भएकोले घरायसी काममा समेत सहयोग गर्न सकिने उनको भनाइ छ ।

nawajiwan
Attariya Hospital

पढाइलाई समेत निरन्तरता दिने तयारीमा रहेका रोहितले प्लस टुको बाँकी परीक्षा अब दिने तयारी गरिरहेका छन्। घरको आर्थिक अवस्था कमजोर भए पनि सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्न सकेकोमा उनी सन्तुष्ट छन्।
आफू सानै छँदा आमा गुमाउनुपरेको तीतो अनुभव सुनाउँदै घरमा बुबा, तीन दाजुभाइ, एक भाउजु र दुई भतिजी रहेको उनले बताए। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफूले धेरै गर्न नसके पनि भविष्यमा यही व्यवसायलाई निरन्तरता दिने उनको योजना छ।

यस वर्ष व्यवसाय सञ्चालनका लागि करिब ३० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको भन्दै उनले जोरायल गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझालाई धन्यवाद दिए। स्थानीय तहबाट प्राप्त सहयोगले व्यवसायलाई अघि बढाउन थप हौसला मिलेको उनको भनाइ छ।

काम गर्दै सीप सिकेर व्यवसाय सञ्चालन गरिरहेका रोहितलाई भने आधुनिक प्रविधि र शैलीसम्बन्धी थप तालिमको आवश्यकता महसुस भएको छ। ‘काम गर्दै सिकेको सीपले अहिलेसम्म व्यवसाय चलाइरहेको छु,’ उनी भन्छन्, ‘एकपटक आधुनिक हेयर कटिङ्गसम्बन्धी तालिम पाए अझ राम्रो गर्न सकिन्थ्यो।’
गाउँमै बसेर सीप र श्रमलाई आम्दानीको माध्यम बनाएका रोहित सानोतिनो पेशा व्यवसाय गर्न हिच्किचाउनेहरुका लागि र रोजगारीको लागि बाहिरै जानुपर्छ भन्नेहरूको लागि प्रेरणाको श्रोत बनेका छन् ।