
बझाङः दातृ संस्थाको सहयोग रोकिएपछि बझाङका एचआईभी संक्रमितलाई नियमित औषधि उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भएको छ। आर्थिक अभावका कारण गाउँबाट जिल्ला अस्पतालसम्म आउन–जान गाडी भाडा जुटाउन नसक्दा संक्रमितहरू नियमित उपचार र स्वास्थ्य जाँचबाट वञ्चित हुन थालेका हुन्।

मंगलबार जिल्ला अस्पतालमा एचआईभी संक्रमितहरूको संस्था ‘बझाङ प्लस’ले आयोजना गरेको बैठकमा सहभागी संक्रमितहरूले आर्थिक अभावका कारण नियमित रूपमा गर्नुपर्ने ‘भाइरल लोड’ परीक्षणसमेत गर्न नसकेको गुनासो गरे। सदरमुकाममा आउँदा बस्न र खानका लागि खर्च नहुँदा उपचार प्रभावित भएको उनीहरूको भनाइ छ।
केही वर्षअघिसम्म ‘बझाङ प्लस’मार्फत वैदेशिक दातृ संस्थाको सहयोगमा संक्रमितलाई अस्पतालसम्म आउन यातायात खर्च तथा सदरमुकाममा खान–बस्न आवश्यक सहयोग उपलब्ध हुँदै आएको थियो। तर पछिल्लो समय उक्त सहयोग रोकिएपछि समस्या थप गम्भीर बनेको बझाङ प्लसका कर्मचारी गोपाल थापाले बताए।


उनका अनुसार जिल्लामा हाल करिब एक सय एचआईभी संक्रमित छन्। साइपाल र सुर्मा गाउँपालिकाबाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा संक्रमित रहेको उनले जानकारी दिए।
संक्रमितहरूले स्थानीय तहबाट समेत आवश्यक सहयोग नपाएको गुनासो गरेका छन्। नियमित औषधि, स्वास्थ्य परीक्षणसँगै जीविकोपार्जनमा समेत समस्या रहेको उनीहरूको भनाइ छ। उनीहरूले राज्य र स्थानीय सरकारसँग उपचार सहज बनाउन यातायात तथा स्वास्थ्य परीक्षणमा सहयोग र आयआर्जनका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।































