कृष्णपुर–३ लाई बालमैत्री वडा बनाउने प्रतिबद्धता, बाल क्लब सशक्तीकरणमा जोड

Image
Nisarga Hospital

कञ्चनपुरः कृष्णपुर नगरपालिका–३ लाई नमुना बालमैत्री वडा बनाउने उद्देश्यले बालबालिकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा बिहीबार आयोजित एकदिने कार्यक्रममा बाल क्लबलाई थप सशक्त बनाउँदै बालबालिकाका अधिकार, सामाजिक सुशासन तथा समृद्धिका विषयमा छलफल गरिएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा बालबालिकामाथि हुने घरेलु हिंसा, बालविवाह, लागूऔषध दुव्र्यसन, बाल हिंसा तथा बालबालिकाको भविष्य लगायतका विषयमा छलफल गर्दै गाउँ–टोल तथा बस्तीस्तरमा जनचेतना फैलाउन बालबालिकाको महत्वपूर्ण भूमिका रहनेमा जोड दिइएको थियो।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष खेमराज चौधरी लगायत वडा जनप्रतिनिधिहरूले बालबालिकालाई सामाजिक गतिविधिमा सक्रिय सहभागिता गराउँदै बाल क्लबलाई सशक्त बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको बताए। वडा अध्यक्ष चौधरीले १८ वर्ष उमेर पुगेका बालबालिकालाई मतदानमा सहभागी हुन प्रेरित गर्नुपर्ने उल्लेख गर्दै आगामी दिनमा वडामा सञ्चालन हुने विभिन्न कार्यक्रम तथा अभियानमा बाल क्लबको महत्वपूर्ण भूमिका रहने र स्थानीय बाल क्लबलाई आवश्यक सहयोग तथा सशक्तीकरणका लागि वडा कार्यालय जुनसुकै समयमा तयार रहने समेत बताए।

nawajiwan
Attariya Hospital

यस्तै, खेलकुद क्षेत्रको विकासमा पनि बाल क्लबलाई विशेष प्राथमिकता दिइने बताइएको छ। बालबालिकाको प्रतिभा पहिचान तथा खेलकुदको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरी बाल क्लबमार्फत विभिन्न गतिविधि सञ्चालन गरिने वडा अध्यक्ष चौधरीले प्रतिबद्धता जनाए। कार्यक्रममा कृष्णपुर नगरपालिका–३ का बाल क्लब अध्यक्ष प्रशान्त खत्री लगायत करिब २५ जना बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा वडा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकार र जिम्मेवारीप्रति सचेत बनाउँदै कृष्णपुर–३ लाई बालमैत्री तथा सुरक्षित वडा निर्माण गर्ने अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।