
मेलौली नगरपालिका दुइ को सुन्दर भूमि सेलि गाउँ। चारैतिर हरियाली डाँडापाखा र मनमोहक प्राकृतिक दृश्यलेजो–कोहीको मन लोभ्याउँछ। सानो गाउँ भए पनि शान्त र सुन्दर छ। यहाँका मानिसहरूको स्वभाव निकै मिजासिलो छ। एक अर्कालाई सहयोग गर्ने, घरमा पाकेको मीठो–मसिनो खाना छिमेकीलाई पनि खुवाउने तथा विभिन्न चाडपर्वमा एकसाथ भएर नाच्ने गाउने परम्परा सुन्दरभुमी सेलि गाउँको प्रशंसनीय पक्ष हो।

गाउँमा मठैराज बाबा र पितर बर्माको सानो मन्दिर छ। यहाँ ओल्के पर्व, दसैँ, नयाँ वर्षलगायत विभिन्न अवसरमा पूजापाठ, सत्सङ्ग, कीर्तन तथा भजन हुने गर्छ। हिन्दुहरूको महान् गौरा पर्व पनि मठैराज बाबाकै सुन्दर थलोमा मनाइन्छ।
यहाँका मानिसहरू भगवानप्रति निकै आस्था राख्छन्। विशेषगरी प्रत्येक घरमा तुलसी रोप्ने, तुलसीलाई जल चढाउने तथा पूजा गर्ने चलनसमेत रहेको छ।
गाउँमा कुनै व्यक्तिले ठूलो काम गर्नुपरेमा सबै मिलेर काम सम्पन्न गरिदिने, श्रमदान गर्ने तथा कसैलाई अप्ठ्यारो, दुःख वा संकट पर्दा उद्धारका लागि एकजुट हुने परम्परा सेलि गाउँको उदाहरणीय सामाजिक संस्कार हो।


पछिल्लो समयमा गाउँमा युवाहरूको संख्या भने केही कम हुँदै गएको छ। रोजगारीका लागि धेरै युवा विदेश गएका छन् भने पढाइका लागि केही युवाहरू सहरी क्षेत्रमा गएका छन्। केही परिवार तराई क्षेत्रमा समेत बसोबास गर्दै आएका छन्।
हाल गाउँमा करिब पैतिस देखि चालीस परिवारको बसोबास रहेको छ। सानो भए पनि सेलि गाउँ प्राकृतिक रूपमा निकै सुन्दर छ। यहाँको हावापानी स्वच्छ र वातावरण सफा छ।
गाउँमा रहेका मानिसहरू खेतीपाती, गाई–बाख्रा पालन तथा घरायसी काममा व्यस्त रहन्छन्। त्यस्तै, व्यापार–व्यवसाय र राजनीतिमा पनि यहाँका मानिसहरूले चासो राख्दै आएका छन्।
मेलौली नगरपालिका दुई का पूर्व जनप्रतिनिधि महादेव भट्टले आफ्नो कार्यकालमा वडाको विकासमा ठूलो योगदान दिएको स्थानीय तथा वडावासीहरू बताउँछन्। विशेषगरी उहाँको कार्यकालमा गाउँमा बिजुली विस्तार, खानेपानी, सिँचाइ कुलो, पीसीसी बाटो तथा मन्दिर निर्माणलगायतका विकासका कामहरू भएको स्थानीयहरू बताउँछन्।
विगतमा गाउँमा असिक्षा र चेनाको अभाव र राजनीतिक कारणले केही विकृति पनि थियो। गाउँमा विकासका योजना आउँदा एमाले र कांग्रेस पार्टीका व्यक्तिहरूबीच विवाद सिर्जना हुने गर्थ्यो। एमालेका व्यक्तिहरूले कांग्रेसलाई आरोप लगाउने र कांग्रेसका व्यक्तिहरूले एमालेलाई आरोप लगाउने अवस्था थियो। कतिपय अवस्थामा राजनीतिक विवादकै कारण विकासका बजेटसमेत फ्रिज गएको इतिहास भेटिन्छ।
तर आजको समयमा भने एक–अर्कालाई आरोप लगाउने र विवाद गर्नेभन्दा पनि ‘यो कांग्रेस, यो एमाले’ भन्ने भावना कम हुँदै गएको छ। गाउँवासीहरू पार्टीभन्दा माथि उठेर विकासलाई साथ दिन थालेका छन्। हातमा हात मिलाएर अघि बढ्ने र सामाजिक एकता कायम राख्ने प्रयासले सुन्दर भूमि सेलि गाउँलाई आज मेलौली नगरपालिकाकै नमुना गाउँको रुपमा चिन्न सकिन्छ
सानो गाउँ, स्वच्छ वातावरण, प्राकृतिक सौन्दर्य, गाउँबासीको आपसी सहयोग र सामाजिक एकताले नै सेलि गाउँलाई अझ सुन्दरभुमी र उदाहरणीय बनाएको छ।































