
डोटीः डोटीको जोरायल गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३३ लाख २८ हजार ६४१ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

विहीबार बसेको जोरायल गाउँपालिका गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
जोरायल गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्ती अनुसार गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरिनेछ। यस्तै, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले आफ्नो सेवा–सुविधाबाट १५ दिन बराबरको रकम सहयोग गर्ने भएका छन् । जसबाट २ लाख ७ हजार ९५२ रुपैयाँ संकलन हुनेछ।
त्यसैगरी, गाउँपालिकाका अधिकृतस्तरका कर्मचारीले ७ दिन, सहायकस्तरका कर्मचारीले ५ दिन तथा श्रेणीविहीन कर्मचारीले २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ। यसबाट ७ लाख ६० हजार ८४२ रुपैयाँ सहयोग हुने जनाइएको छ।
गाउँपालिकाअन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट समेत सहयोग गरिने भएको छ। माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको १० दिन, माध्यमिक तह द्वितीय र तृतीय श्रेणी, निम्न माध्यमिक तह प्रथम र द्वितीय श्रेणी तथा प्राथमिक तह प्रथम श्रेणीका शिक्षकको ७ दिन, निम्न माध्यमिक तह तृतीय श्रेणी, प्राथमिक तह द्वितीय र तृतीय श्रेणीका शिक्षकको ५ दिन तथा विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र सहयोगी कर्मचारीको २ दिनको तलब बराबरको रकम प्रदान गरिने जनाइएको छ । जसबाट २१ लाख ४ हजार २९३ रुपैयाँ प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
यसरी विभिन्न स्रोतबाट गरी कुल ३३ लाख २८ हजार ६४१ रुपैयाँ बाढी प्रभावितका लागि सहयोग गर्न लागिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।


विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा गाउँपालिकाले समवेदना व्यक्त गरेको छ भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै वेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि सम्बद्ध पक्षसङ्ग अनुरोध समेत गरेको छ ।
विपद्को विषम परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायबाट भइरहेका प्रयासमा जोरायल गाउँपालिकाको पूर्ण ऐक्यबद्धता, समन्वय र सहकार्य रहने प्रेस विज्ञप्तीमार्फत प्रतिवद्धता समेत जनाइएको छ ।
































