
बझाङः जिल्ला अस्पताल बझाङमा पहिलोपटक आधुनिक दूरबिन प्रविधि अर्थात् ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया सेवा सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक अत्याधुनिक उपकरण उपलब्ध गराएपछि अस्पतालले जिल्लामै यो सुविधा सञ्चालनमा ल्याएको हो।

जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्दीप ओखेडाका अनुसार भदौ १६ गते ५२ वर्षीया एक महिलाको पित्तथैलीको सफल शल्यक्रिया गर्दै ल्याप्रोस्कोपिक शल्यक्रिया सेवाको औपचारिक सुरुवात गरिएको हो। जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. उत्तम चौलागाईं र एनेस्थेसिया विशेषज्ञ डा. प्रशान्त ढुंगानासहितको दक्ष चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ।
दूरबिन प्रविधिबाट गरिने शल्यक्रियामा बिरामीको शरीरमा ठूलो चिरा लगाउनुपर्ने आवश्यकता कम हुन्छ। यसबाट घाउ सानो हुने, दुखाइ तुलनात्मक रूपमा कम हुने तथा बिरामीलाई छिटो स्वास्थ्यलाभ गरी घर फर्कन सहज हुने चिकित्सकहरूले बताएका छन्।


यो सेवा सुरु भएपछि आगामी दिनमा पित्तथैलीका अतिरिक्त एपेन्डिक्स र हर्नियाको समेत ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको डा. ओखेडाले जानकारी दिनुभयो।
जिल्लामै आधुनिक शल्यक्रिया सेवा उपलब्ध भएपछि अब बझाङका बिरामीले सामान्य शल्यक्रियाका लागि समेत धनगढी, काठमाडौं वा अन्य जिल्ला धाउनुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै जिल्लामा गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।































