
डोटी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समिति सभापति भरतबहादुर खड्काले वर्तमान सरकार सफल हुने बाटोबाट विचलित हुँदै गएको बताएका छन्।

नेपाल प्रेस युनियन डोटीले शुक्रबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खड्काले जनताको ठूलो अपेक्षाबाट बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए। कांग्रेसले सरकारलाई सफल बनाउन सहयोग गर्ने पक्षमा रहे पनि सरकारको पछिल्लो कार्यशैलीले चिन्ता बढाएको उनको भनाइ थियो।
‘यो सरकारलाई असफल हुने छुट छैन। जनताको ठूलो अपेक्षा छ,’ खड्काले भने, ‘हामी यो सरकार सफल बनाउन सहयोग गर्छौं। तर सरकार सफल हुने बाटोबाट विचलनतिर गइरहेको छ।’


सरकारको आर्थिक तथा वित्तीय अनुशासनमा केही कुरा ‘ट्र्याक नमिलेको’ उनको टिप्पणी छ। प्रधानमन्त्रीले राजनीतिक दलदेखि प्रशासनिक क्षेत्रसम्मका सम्बद्ध पक्षसँग समन्वय गरेर देशमा शान्ति, अमनचयन कायम गर्ने तथा प्रशासनिक सुधारमार्फत जनतालाई हिजोभन्दा दरिलो र अनुभूति हुने सेवा दिनुपर्नेमा त्यसो हुन नसकेको खड्काले बताए।
राज्यप्रति जनताको अविश्वास बढ्दै गएमा त्यसले दुर्घटनाको जोखिम समेत बढाउने खड्काको भनाइ छ। उनले सामाजिक सञ्जालमा लोकप्रिय देखिने विषयवस्तु र स्टाटस लेखेर मात्रै सरकार सञ्चालन नहुने भन्दै परिणाम देखिने गरी काम गर्न सरकारलाई आग्रह गरे।
‘सामाजिक सञ्जालमा पपुलिस्ट कुरा गर्ने र स्टाटस मात्रै लेख्नेभन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्छ,’ उनले भने।
ग्यासको अभाव तथा दैनिक उपभोग्य वस्तुको बढ्दो महँगीप्रति पनि सरकारले पर्याप्त ध्यान दिन नसकेको खड्काले बताए। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको बेला “फ्रि भिसा, फ्रि टिकेट” सहित विदेशका गल्ली गल्लीमा स्टिकर टाँसेर सैयौं मानिस नेपाल फिर्ता ल्याउने प्रतिबद्धता गरेको प्रसंग उल्लेख गर्दै खड्काले अहिले रास्वपा नेतृत्वमा सरकार रहँदा विदेश जाने नेपालीको संख्या झन् बढिरहेको दाबी गरे। उनले निर्वाचनका बेला गरिएका प्रतिबद्धता र सरकार सञ्चालनमा देखिएको अवस्थाबीच प्रश्न उठेको बताए।
ठूलो ‘जेनजी’ आन्दोलनपछि बनेको वर्तमान सरकारमा विगतका सरकारभन्दा फरकपन देखिन नसकेको पनि खड्काले टिप्पणी गरे। रास्वपा नेतृत्वको सरकारसँग झण्डै दुई तिहाइको समर्थन रहेको अवस्थामा संवैधानिक निकाय, प्रशासनिक निकाय तथा विभिन्न संघसंस्थालाई त्रासमा राखेर राजनीति सञ्चालन गर्न नहुने उनको भनाइ थियो।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै खड्काले संसदमा सरकारको कामका आधारमा जनमत लिने अवस्था आए रास्वपाकै ८० प्रतिशत सांसदले समेत सरकारको पक्षमा मतदान नगर्ने दाबी गरे।
खड्काले सरकारलाई प्रशासनिक तथा संवैधानिक संरचनाको निष्पक्ष सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन्। प्रशासनिक राज्य व्यवस्था स्वतन्त्र र निष्पक्ष ढंगले सञ्चालन गरिनुपर्ने र संवैधानिक निकायहरूले पनि निष्पक्ष रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्।
प्रधानमन्त्रीले आफूलाई सबैको अभिभावकका रूपमा प्रस्तुत गर्दै सबै राजनीतिक दल तथा सम्बद्ध पक्षलाई एक ठाउँमा ल्याएर राष्ट्र निर्माणमा एकजुट गर्नुपर्ने उनको सुझाव छ।
कूटनीतिक सम्बन्धका विषयमा समेत सरकार गम्भीर हुनुपर्ने खड्काले बताए। सामाजिक सञ्जालमा हल्का ढंगले स्टाटस लेखेर लोकप्रियता हासिल गर्नेभन्दा छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग परिपक्व र सूक्ष्म कूटनीतिक पहलमार्फत सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाइ थियो।
‘कूटनीतिक क्षेत्रलाई हल्का ढंगले स्टाटस लेखेर ताली बजाउने किसिमले हुँदैन,’ खड्काले भने, ‘विशेषगरी छिमेकी मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा सूक्ष्म कूटनीतिक तवरले परिपक्व सम्बन्ध बनाउनुपर्छ।’
नेता खड्काले के के भने भिडियोमै सुन्नुहोस् –


































