
बैतडी:

बैतडीको सिगास गाउँपालिका–३ स्थित प्रसिद्ध भूमिराज मन्दिरमा कात्तिक २९ गते राति परम्परागत जात्रा (रतेडी) लाग्ने भएको छ । जात्रालाई सभ्य, भव्य, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न वडा कार्यालयले मेला अवधिभर मदिरा सेवन तथा जुवातासजस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
वडा कार्यालयले शुक्रबार जारी गरेको सूचनामार्फत भूमिराज मन्दिरमा लाग्ने जात्राका क्रममा जाँडरक्सी तथा जुवातासजस्ता अनैतिक गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो ।
हरेक वर्ष कार्तिक शुक्ल षष्ठीको राति रतेडी तथा सप्तमीका दिन दिउँसेडी जात लाग्ने परम्पराअनुसार मन्दिरमा पूजाआजा, पाठ तथा धार्मिक विधिसहित मेला सञ्चालन हुने गर्दछ ।
जात्रामा सिगास गाउँपालिकाका विभिन्न वडा तथा बसाइँसराइ गरी कैलाली, कञ्चनपुर र डडेल्धुरा पुगेका श्रद्धालुसमेत ठूलो संख्यामा सहभागी हुने गरेको स्थानीय शिक्षक योगेन्द्र बोहरले बताउनुभयो । देवताको दर्शन तथा पूजाआजाका लागि टाढाटाढाबाट श्रद्धालुहरू आउने भएकाले मेला व्यवस्थापनलाई विशेष महत्त्व दिइएको छ ।
वडा कार्यालयका अनुसार मेला अवधिमा मदिरा सेवन तथा जुवातासजस्ता गतिविधि गरेको वा गराएको पाइएमा सिगास गाउँपालिकाको मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका, २०७९ बमोजिम कारबाही गरिनेछ ।
वडा कार्यालयले मेलाको क्षेत्रसमेत तोकेको छ । जसअनुसार पूर्वमा खल्लबगर खेत, पश्चिममा मैतोड खोला, उत्तरमा काटेबगर भिर र दक्षिणमा मसानघाडीसम्मको क्षेत्रलाई मेला अवधिभर मदिरा तथा जुवातास निषेधित क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै मेलालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन वडा कार्यालयले स्थानीयवासी, श्रद्धालु तथा मेलामा सहभागी हुने सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।





























