
बझाङः बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका – १ खुलमहर बस्ने ५५ वर्षिय खड्के बोहरा रहेका छन् । बोहराले फागुन ११ गते दिउँसोको समय १७ वर्षीया किशारीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बित्थडचिर गाउँपालिका – ३ पस्याड भन्ने मेलामा गाइगोरु चराउन गएको मौका छोपी बोहराले किशारीलाई ललाइ फकाई र धाक धम्कि सहित जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । जाहेरी दिएको केही समयमै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बोहरालाई पक्राउ गरेर आइतबार जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले बताउनुभयो ।

































