बझाङको सदरमुकाम चैनपुरमा रहेको बालमन्दिर आधारभूत विद्यालय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट विद्यालय घोषित, प्रधानाध्यापक सिंह पूर्वराष्ट्रपतिबाट सम्मानित

Image
Nisarga Hospital

बझाङः बझाङको सदरमुकाम चैनपुरमा रहेको बालमन्दिर आधारभूत विद्यालय सुदूरपश्चिम प्रदेशका आधारभूत तहका विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ। जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित पान (प्रधानाध्यापक संघ नेपाल) को तेस्रो राष्ट्रिय सम्मेलन मा उक्त विद्यालय प्रदेशकै उत्कृष्ट घोषित भएको हो।

CP Hospital Dhangadhi

सम्मेलनको विशेष समारोहमा विद्यालयका प्रधानाध्यापक टेक बहादुर सिंहलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले सम्मानपत्र सहित सम्मानित गर्नुभएको हो। उक्त सम्मान प्राप्त भएसँगै बालमन्दिर आधारभूत विद्यालय परिवारले एक सन्देश जारी गर्दै यस उपलब्धि प्रति हर्ष र गौरव व्यक्त गरेको छ। विद्यालयले प्रधानाध्यापक सिंहको नेतृत्वदायी भूमिका, अथक प्रयास र समर्पणको विशेष प्रशंसा गरेको छ।

“यो सम्मान प्रधानाध्यापकको कुशल नेतृत्वसँगै सम्पूर्ण शिक्षक–कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, विद्यार्थी, अभिभावको सामूहिक प्रयास र सहकार्यको प्रतिफल रहेको भन्दै यस उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।
साथै, यो सम्मान विद्यालयको मात्र नभई समग्र बझाङ जिल्लाकै शैक्षिक गौरव भएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्टताको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता विद्यालयले जनाएको छ।

विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले ६ गते सम्म सम्मेलन आयोजना गरीएको थियो । सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।