
कैलालीको अत्तरियामा आयोजित छ दिने स्वास्थ्य युवा महोत्सव सम्पन्न भएको छ । मंसिर २ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेको महोत्सव आज विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो ।

महोत्सवको छ दिने अवधिमा हजारौँ नागरिकले विभिन्न प्रकारका स्वास्थ्य सेवा तथा परामर्श लिएका छन् । महोत्सवमा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श र सचेतनामूलक कार्यक्रममार्फत नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर सयौँ नागरिकलाई मानसिक स्वास्थ्य तथा मनोपरामर्श, लागूऔषध न्यूनीकरण, पाठेघरसम्बन्धी समस्या र अन्य स्वास्थ्य विषयमा जानकारी तथा सचेतना प्रदान गरिएको थियो । त्यस्तै, स्वास्थ्य शिक्षाको महत्व, मानसिक स्वास्थ्यको अवस्था, लागूऔषधको प्रयोगबाट हुने असर तथा त्यसको न्यूनीकरणका उपायबारे विभिन्न प्यानल डिस्कसनसमेत सञ्चालन गरिएका थिए ।
स्वास्थ्य सेवा र सचेतनालाई एउटै स्थानबाट नागरिकसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न उमेर समूहका नागरिक, विद्यार्थी तथा युवाहरूको सहभागिता रहेको थियो । महोत्सवले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नुका साथै स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको विश्वास छ ।
महोत्सवको समापन कार्यक्रममा स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश युवा चेम्बर अफ कमर्स र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा महोत्सव सम्पन्न भएको हो । महोत्सवको मुख्य प्रवर्द्धक गोदावरी नगरपालिका रहेको थियो भने विभिन्न संघसंस्था तथा निकायले प्रायोजन गरेका थिए ।
आयोजकले महोत्सवमार्फत स्वास्थ्यसम्बन्धी सेवा, परामर्श र सचेतना कार्यक्रमलाई समुदायस्तरसम्म पुर्याउने प्रयास गरिएको जनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।





























