बहराइनमा अमेरिकी प्याट्रियट प्रणालीका दुई राडारमा आक्रमण गरेको इरानको दाबी

Image
Nisarga Hospital

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बहराइनमा अमेरिकी सेनाको प्याट्रियट एयर डिफेन्स प्रणालीमा जडित दुईवटा राडारलाई निशाना बनाएको दाबी गरेको छ। बीबीसी पर्सियनका अनुसार अल–रिफा र अवालीस्थित दुई सैन्य अखडामा जडान गरिएका राडारमाथि मिसाइल तथा ड्रोनबाट आक्रमण गरिएको हो।

CP Hospital Dhangadhi

रिभोलुसनरी गार्ड्सले जारी गरेको विज्ञप्तिमा इरानको हवाई क्षेत्रको निरन्तर उल्लङ्घन र आफूमाथि भइरहेको आक्रामक गतिविधिको जवाफस्वरूप कारबाही गरिएको उल्लेख छ।

विज्ञप्तिअनुसार अमेरिकी सेनाका एमक्यू–१ र एमक्यू–९ नामका दुई जासुसी ड्रोन इरानी हवाई क्षेत्रमा प्रवेश गरेपछि उक्त आक्रमण गरिएको हो। साथै, भविष्यमा कुनै पनि देश वा शक्तिले इरानको हवाई क्षेत्र उल्लङ्घन गरे कडा र निर्णायक जवाफ दिने चेतावनीसमेत दिइएको छ।

यता, बहराइनका राजाका सञ्चार मामिला सल्लाहकारले देशको हवाई प्रतिरक्षा प्रणालीले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानी मिसाइल र ड्रोनलाई रोकेर नष्ट पारेको बताएका छन्।

इरानले राडार ध्वस्त पारेको दाबी गरे पनि बहराइनले मिसाइल तथा ड्रोन निष्क्रिय बनाएको जनाएको छ। दुवै पक्षका दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।