
यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी २२ खेल सुर्खेतमा सञ्चालन हुनेछन्।

सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, ह्यान्डबल, बास्केटबल, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनलगायत खेल हुनेछन्। बाँके र बर्दियामा दुई–दुई तथा सल्यानमा दुई खेल सञ्चालन गरिनेछ। त्यस्तै, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल आयोजना हुनेछन्।
परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताका अनुसार पौडी र सुटिङ नेपालगञ्ज, महिला तथा पुरुष खो–खो बर्दिया, जुडो र कुस्ती सल्यान तथा आइटिएफ तेक्वान्दो दैलेखमा हुनेछ। महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा आयोजना गरिनेछ।
प्रतियोगितामा करिब ६ हजार खेलाडी र ३ हजार अफिसियल गरी ९ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। प्रतियोगिता व्यवस्थित बनाउन १४ वटा समिति गठन गरिएको छ। केही खेल मङ्सिर ८ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ।





























