प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पक्की पुलको मुद्दा उठ्ने बैतडीवासीको आशा

Image
Nisarga Hospital

बैतडी : प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंसिर ६ र ७ गते हुने भारत भ्रमणका क्रममा बैतडीको झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल निर्माणको विषयले प्राथमिकता पाउने बैतडीवासीले आशा व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले स्थानीयको माग र सुझावअनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा पुल निर्माणबारे छलफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विगतमा भएका नेपाल–भारत सम्झौता कार्यान्वयनका लागि पनि पहल हुने अपेक्षा राख्नुभयो।

यसअघि भारत सरकारले झुलाघाट, डडेलधुराको शीर्ष र दार्चुलामा पक्की पुल निर्माण गर्ने सम्झौता गरेको थियो। दार्चुलामा पुल निर्माण सम्पन्न भई उद्घाटनको तयारी भइरहँदा झुलाघाटको काम भने अघि बढ्न सकेको छैन।

पक्की पुल नहुँदा स्थानीय बासिन्दा, व्यापारी तथा उपचारका लागि भारत जाने नागरिक करिब डेढ सय वर्ष पुरानो जीर्ण झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै बैतडीवासीले २०५९ सालदेखि निरन्तर संघर्ष गर्दै आएका छन्। २०७६ मा ३७ दिनसम्म रिले अनशनसमेत बसेका थिए। झुलाघाटमा पक्की पुल बने व्यापार, पर्यटन र आवागमन सहज हुने स्थानीयको अपेक्षा छ।