
धनगढी : सुदूरपश्चिम प्रदेशको गौरव र राष्ट्रिय महत्त्वको आयोजनाका रूपमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। रङ्गशालाको पूर्वाधार निर्माणका लागि बोलपत्र आह्वान भएसँगै लामो समयदेखि चर्चामा रहेको यस आयोजनाले निर्माणको चरणमा प्रवेश गर्ने बाटो खोलेको छ।

धनगढीस्थित संघीय आयोजना कार्यान्वयन इकाइ, कैलालीले २०८३ मंसिर ४ गते (नोभेम्बर २०, २०२६) सार्वजनिक सूचना जारी गर्दै रङ्गशाला निर्माणका लागि योग्य निर्माण व्यवसायीबाट विद्युतीय माध्यममार्फत बोलपत्र आह्वान गरेको हो।
आह्वान गरिएको ठेक्काअन्तर्गत रङ्गशालाको मैदान निर्माणका लागि हालको जमिनको सतहमा माटो भर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका प्रारम्भिक पूर्वाधार निर्माणका काम गरिनेछन्। यसले रङ्गशालाको भौतिक संरचना विकासको कामलाई अघि बढाउने अपेक्षा गरिएको छ।
बोलपत्र सूचनाअनुसार इच्छुक निर्माण व्यवसायीले ९० दिनको बोलपत्र मान्य अवधि र १२० दिनको बोलपत्र जमानत मान्य अवधि कायम गर्नुपर्नेछ। बोलपत्रमा सहभागी हुन ५४ लाख रुपैयाँ धरौटी रकमसमेत तोकिएको छ।
त्यस्तै, निर्माण व्यवसायीले समान प्रकृतिको कम्तीमा एउटा आरसीसी फ्रेम स्ट्रक्चर परियोजना ११ करोड १० लाख रुपैयाँ बराबरको सम्पन्न गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना मात्र नभई मुलुककै खेलकुद पूर्वाधार विकाससँग जोडिएको महत्त्वपूर्ण आयोजना हो। यसलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
रङ्गशाला निर्माण सम्पन्न भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने आधार तयार हुनुका साथै खेल पर्यटन प्रवर्द्धन, स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि चर्चामा रहेको फाप्ला रङ्गशालाको ठेक्का प्रक्रिया अघि बढेसँगै सुदूरपश्चिममा आधुनिक खेल पूर्वाधार निर्माण हुने आशा थप बलियो बनेको छ। अब बोलपत्र प्रक्रिया सम्पन्न भई निर्माण कार्यले गति लिने प्रतीक्षामा सुदूरपश्चिमवासी रहेका छन्।






























