सुदूरपश्चिम सरकारले ९ विद्यार्थीलाई एमबीबीएस पढाउने, छात्रवृत्तिका लागि आवेदन खुला

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले शैक्षिक सत्र २०८३/८४ का लागि ९ जना विद्यार्थीलाई एमबीबीएस (MBBS) अध्ययन गराउने भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्ति कार्यक्रमअन्तर्गत योग्य विद्यार्थीबाट आवेदन आह्वान गरेको हो।

CP Hospital Dhangadhi

मन्त्रालयले जारी गरेको सूचनाअनुसार चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।

एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ (छैटौँ संशोधनसहित) बमोजिम कुल ९ सिटमध्ये खुलातर्फ ५ र समावेशीतर्फ ४ सिट छुट्याइएको छ। समावेशी समूहअन्तर्गत महिलाका लागि १, आर्थिक रूपमा विपन्न खस आर्यका लागि १, आदिवासी जनजातिका लागि १ र पिछडिएको क्षेत्रका लागि १ सिट निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

छात्रवृत्तिमा छनोट हुने विद्यार्थीलाई नेपाल सरकार चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि निर्धारण गरेको कुल शिक्षण शुल्क बराबरको रकम किस्ताबन्दीमा उपलब्ध गराइनेछ।

मन्त्रालयका अनुसार इच्छुक तथा योग्यता पुगेका विद्यार्थीले आवश्यक कागजातसहित आगामी मंसिर १८ गते कार्यालय समयभित्र आवेदन पेस गरिसक्नुपर्नेछ। प्रदेश सरकारले उपलब्ध गराउन लागेको यस छात्रवृत्तिबाट आर्थिक अवस्था कमजोर भएका तथा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने प्रदेशका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।