
सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘सुदूरपश्चिम खप्तड गोल्डकप’को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको मिति, पुरस्कार राशि र तयारीबारे जानकारी गराएको हो ।

आयोजकका अनुसार धनगढी रंगशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीसहित बढीमा १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामार्फत सुदूरपश्चिममा फुटबल खेलको विकास र विस्तार गर्नुका साथै प्रदेशको खेल पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
क्लबका महासचिव प्रकाश शाहीले स्थानीय प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए । २०७३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको खप्तड गोल्डकपलाई यस वर्ष थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी भइरहेको उनले जानकारी दिए । प्रतियोगिताले युवामा फुटबलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ खेल प्रतिभा उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । विजेता तथा उपविजेता टोलीका खेलाडी र पदाधिकारीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।
क्लबका अध्यक्ष योगेन्द्र चन्दले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी, खेलकुदसम्बद्ध संघसंस्था तथा खेलप्रेमी सबैको सहयोग आवश्यक रहेको बताए ।
खप्तड गोल्डकपले सुदूरपश्चिमको फुटबल विकासमा योगदान पुर्याउनुका साथै खेल पर्यटन प्रवर्द्धन, स्थानीय व्यवसायको चलायमानता र आर्थिक गतिविधि बढाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।





























