
कतारमा जारी राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए ।
बलिङतर्फ यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले समान एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको कसिलो प्रदर्शनसामु ३९.५ ओभरमा १२१ रनमै समेटिएको थियो । यूएईका मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाउँदा हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रन जोडेका थिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा मात्र ११ रन खर्चिएर ३ विकेट लिए । उनले तीन ओभर मेडनसमेत राखे । कुशल भुर्तेलले पनि ३ विकेट हात पार्दा नन्दन यादव, रासिद खान र ललित राजवंशीले समान एक विकेट लिए ।
यसअघि पहिलो खेलमा भारत ए विरुद्ध नेपाल २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको थियो । पहिलो जितसँगै नेपालले प्रतियोगितामा पुनरागमनको संकेत गरेको छ । नेपालले अब आफ्नो अर्को खेल मंगलबार पाकिस्तानसँग खेल्नेछ ।





























