राष्ट्रिय खेलकुदमा छनोट भएका गोदावरीका ६ खेलाडीलाई सम्मान, जनही ५ हजार १०० रुपैयाँ सहयोग

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोलीमा छनोट भएका ६ जना खेलाडीलाई बधाई तथा सम्मानसहित आर्थिक सहयोग गरिएको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका वडा नम्बर १० को कार्यालयले आइतबार खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले बधाई, सम्मान तथा सहयोग कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही (गुड्डु)ले राष्ट्रिय प्रतियोगिताका लागि विभिन्न विधामा छनोट भएका वडाका ६ जना खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

कार्यक्रममा वडा अध्यक्ष शाहीले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन छनोट हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गर्दै खेलाडीलाई अनुशासित भएर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। खेलाडीको मेहनत, लगनशीलता र प्रतिभालाई प्रोत्साहन गर्न वडा कार्यालयले सहयोग गरेको बताउँदै उनले प्रतियोगितामा सफलताको शुभकामनासमेत व्यक्त गरे।

त्यस्तै, उसु प्रतियोगिताका लागि छनोट भएकी खेलाडी मनिषा राना क्षेत्रीले वडा कार्यालयबाट प्राप्त सम्मान तथा सहयोगले आफूलाई थप हौसला र प्रेरणा मिलेको बताइन्। उनले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वडा, नगरपालिका र प्रदेशको नाम उँचो बनाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममार्फत राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई सम्मान गर्दै आगामी प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना दिइएको थियो।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३० वटा खेल विधामा ६ सय खेलाडीले सहभागिता जनाउने भएका छन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको हो।

परिषद्ले सार्वजनिक गरेको छनोट सूचीअनुसार भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्ती, कबड्डी, हक्की, बास्केटबल, खोखोलगायत ३० वटा खेलमा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट भएका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगितामा देशभरका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।