
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसले चालु शैक्षिक सत्र २०८३/८४ देखि स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन सुरु गर्ने भएको छ।

क्याम्पसको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत उक्त विषयको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको हो। आइतबार क्याम्पसमा आयोजित पत्रकारहरूसँगको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले यसै शैक्षिक सत्रदेखि पढाइ सुरु गरिने जानकारी दिए।
विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारूप तयार गरी अध्यापनको तयारी अघि बढाएको छ। पाठ्यक्रमलाई व्यावहारिक, समयसापेक्ष र सञ्चार क्षेत्रको आवश्यकताअनुकूल बनाउन पत्रकारहरूसँग सुझाव संकलन गरिएको क्याम्पसले जनाएको छ।
कार्यक्रममा पत्रकारिता विभागका उपप्राध्यापक भुवन भण्डारीले प्रस्तावित पाठ्यक्रमको स्वरूप, विषयवस्तु र मूल्याङ्कन प्रणालीबारे जानकारी गराएका थिए। सुदूरपश्चिम विश्वविद्यालय विषय समितिका संयोजक प्राध्यापक डा. राजेन्द्रवीर चन्दले पाठ्यक्रमको शैक्षिक तथा व्यावसायिक महत्वबारे धारणा राखेका थिए।
छलफलमा सहभागी पत्रकारहरूले पत्रकारिता शिक्षालाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले डिजिटल पत्रकारिता, मल्टिमिडिया, तथ्य जाँच, अनुसन्धान तथा समाचार उत्पादनलाई पाठ्यक्रममा समेट्नुपर्ने बताएका थिए।
लामो समयदेखि स्नातक तहमा पत्रकारिता अध्यापन गराउँदै आएको क्याम्पसले अब स्नातकोत्तर तहसम्म कार्यक्रम विस्तार गर्न लागेको हो। यसले सुदूरपश्चिममा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीलाई उच्च शिक्षाको अवसर थप्ने अपेक्षा गरिएको छ।






























