
सांसद र पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा “विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड” प्रदान गरिएको छ। भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई सो अवार्ड प्रदान गरिएको हो। समारोहमा कालीबाबा शंकराचार्य र विश्व हिन्दु महासङ्घका पदाधिकारीहरू सहभागी थिए।

हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा योगदान
विश्व हिन्दु महासङ्घले हरेक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु र सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई यो अवार्ड प्रदान गर्ने गर्छ। प्रेम आलेलाई हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा गरेको योगदानको लागि सम्मानित गरिएको हो।
अवार्ड प्राप्त गर्ने अन्य प्रमुख व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवी एसएस अग्रवाल, निता अम्बानी, गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्वामी जय पतका, राजश्री बिरला, र श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा रहेका छन्।

पूर्वमन्त्री प्रेम आलेले अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै, विश्व हिन्दु महासङ्घलाई विशेष धन्यवाद दिँदै भने, “यो अवार्डले मलाई निकै खुसी बनाएको छ। म आगामी दिनमा पनि हिन्दु सनातन धर्मको रक्षा र संवर्द्धनमा समर्पित रहने छु।”
सो अवार्ड वितरण समारोहमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा, भारतका समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, र विश्व हिन्दु महासङ्घका अध्यक्ष डा आजय सिंह जस्ता विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सो समारोहमा राजनीति, समाजसेवा र आध्यात्मिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न देशका व्यक्तित्वहरूको सम्मान गरिएको थियो।































